मकवानपुर थाहा नगरपालिकाको आयोजना एवम् जीवन विज्ञान प्रतिष्ठान नेपालको सहकार्यमा पूर्ण स्वास्थ्यका लागि स्वजागरण:  सुख, शान्ति र समृद्धिको जागरण कार्यक्रम गरिएको छ । पालुङ जेसिज सभाहलमा १९ चैत्रमा आयोजित आयोजित कार्यक्रमको पालुङ जेसिजले सहकार्य गरेको थियो ।

कार्यक्रममा थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्टले व्यक्ति स्वास्थ्य भएमात्रै सबै कुरा गर्न सम्भव हुने भएकाले स्वास्थ्यलाई ख्याल राखेर काम गर्न आग्रह गरे । उनले भने, ‘मानिस स्वस्थ भए ऊर्जा आउँछ र ऊर्जा आएपछि घरपरिवार र समाजमा सही काम गर्न सकिन्छ ।’ थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको प्रसंग कोट्याउँदै प्रमुख विष्टले उनै रुपचन्द्रको भनाइ सुनाउँदै भने–‘केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी, अतियथार्थमुखी, कर्तव्यमुखीवाहेक, पछुवा, भगुवा सारा दोषी, जात ठूलो कि जनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि निस्वार्थ ?’ भनाइ अनुसार काम गर्नु जनप्रतिनिधिको दायित्व भएको प्रमुख विष्टले उल्लेख गरे ।

    

नगर प्रमुख विष्टले थाहानगर धेरै संभावना भएर पनि आर्थिक सम्वृद्धिको बाटो पछ्याउन अझै कसरत गरिरहेको सुनाए । उनले स्वजागरण जस्ता महत्वपूर्ण कार्यक्रमले पनि सम्वृद्धिको बाटो खुलाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । सबैभन्दा ठूलो धन नै स्वास्थ्य भएकाले स्वास्थ्यलाई ख्याल राखेर जीवन विज्ञानलाई अंगाल्नुपर्नेमा उनको जोड थियो । उनले थपे, ‘मानिस आफू ठीक छैन भने अरुलाई ठीक बनाउन सक्दैन । दोषी व्यक्तिले सबैलाई दोषी देख्छ । त्यसैले मष्तिष्कलाई सही ठाउँमा प्रयोग गर्नका लागि र सबैको भलो हुने काम गर्नका लागि जीवन विज्ञानलाई आत्मसात् गर्नुपर्छ ।’ जीवन विज्ञानबाट समयको व्यवस्थापन, तनाव व्यवस्थापन र कामको व्यवस्थापन गर्न सकिने भएकाले सबैले यसलाई आत्मसात् गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि जीवन विज्ञान प्रतिष्ठान नेपालका संस्थापक भानु गुरुदेवले पूर्ण स्वास्थ्यका लागि स्वजागरणका विषयमा प्रकाश पारेका थिए । उनले थाहा, रुपचन्द्र विष्ट र नगरका सम्पदा र तिर्थका विषयलाई जोडेर प्रवचन दिएका थिए । कार्यक्रममा मानिस कसरी खुसी हुने, आफ्ना आवश्यकता कसरी पूरा गर्ने र समयको परिपालना कसरी गर्ने भन्ने विषयमा चर्चा गरिएको थियो ।

कुमार नेगीले सञ्चालन गरेको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्मा, वडाध्यक्षहरु तथा अन्य जनप्रतिनिधि, स्थानीय संघसंस्थाका प्रमुख एवं प्रतिनीधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम अघि प्रमुख अतिथि जीवन विज्ञान प्रतिष्ठान नेपालका संस्थापक भानु गुरुदेवलाई स्थानीय झाँकीसहितको टोलीले स्वागत गरेको थियो । खैजडी भजन, नौमती पञ्चे बाजा, स्टाउट टोली तथा स्थानीयहरुले स्वागत गरेका हुन् ।

पालिका प्रेस
थप जानकारी