
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ दामगाडेमा खानेपानी परियोजनाको उद्घाटन गरिएको छ । खानेपानीको चरम अभावमा रहेका १ सय ५१ परिवारका लागि निर्माण गरिएको दामगाडे खानेपानी तथा सरसफाई परियोजनाको २७ चैतमा उद्घाटन गरिएको हो । परियोजनाको थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गरेका हुन् ।
विद्युतमा आधारित लिफ्टिङ खानेपानी आयोजनाबाट कैलाश गाउँपालिकाका १२ परिवारलाई समेत खानेपानी वितरण गरिएको छ । कुल १ करोड ७५ लाख ५३ हजार १ सय ३६ रुपैयाको लागतमा खानेपानी परियोजनाको निर्माण भएको हो । गैरसरकारी संस्था च्वाइस नेपालको सहयोगमा निर्माण भएको उक्त योजनाका लागि रोटरी तथा च्वाइस नेपालबाट ७२ लाख ५ हजार ८ सय ८६ रुपैया, बागमती प्रदेश सरकारको ६५ लाख, थाहा नगरपालिकाको १५ लाख तथा स्थानीय उपभोक्ताको १९ लाख ७० हजार ५ सय ५० रुपैयाको लागत सहभागितामा परियोजना निर्माण गरिएको हो ।
उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले अति आवश्यक ठाउँ पहिचान भएको गाउँमा खानेपानी योजना निर्माणका लागि साँझेदारी गरेकोमा च्वाइस नेपाल तथा रोटरी क्लब अफ काठमाण्डौंप्रति आभार व्यक्त गरे । विष्टले दशाकौंदेखिको दामगाडे गाउँको खानेपानी अभाव थाहा पाएको भए पनि बजेट कम भई सम्पन्न गर्न नसकेकोमा साँझेदारी संस्था र उपभोक्ताको उत्सहबाट ‘एक घर, एक धारा’ निर्माणमा सफलता मिलेको उल्लेख गरे । थाहानगर खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका विष्टले नगरका सबै खानेपानी आयोजनाहरुलाई एकीकृत रुपमा सञ्चालन व्यवस्थापनको प्रबन्ध मिलाउने बतााए । ‘आयोजनाको निर्माण सम्पन्न मात्र ठूलो कुरा भएको बताउँदै यसको दीगो व्यवस्थापन चुनौतिपूर्ण रहेको छ’– बोर्डका अध्यक्ष विष्टले थपे–‘यसका लागि खानेपानी व्यवस्थापन बोर्ड मार्फत प्रविधि र व्यवस्थापकीय सहयोग हुन्छ, च्वाइस र रोटरी जस्ता सहयोगी संस्था हामीसंगै हुनु हुनेछ ।’
च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले दामगाडेमा खानेपानी संकट टार्न आफ्नो संस्थाकोतर्फबाट सहयोग भएको भएपनि परियोजनामा उपभोक्ताको लगानी र लगावको उच्च प्रशंसा गरे । पहिलो जनप्रतिनीधिकै पालामा सम्झौता गरी अघि बढाइएको परियोजना सम्पन्न गर्नका लागि समुदायसंगै, रोटरी क्लब अफ काठमाण्डौं, थाहा नगरपालिका, वडा कार्यालय सबैको सहयोगमा सफल भएको बताउँदै संयुक्त सहकार्यबाटै उपलब्धी हासिल भएकोमा खुशी व्यक्त गरे । च्वाइस नेपालले हाल देशका २५ स्थानीय सरकारसंग सहकार्य गर्दै काम गरीरहेको उल्लेख गर्दै दामगाडेमा अरु थप परियोजनाहरु पनि सञ्चालन गर्ने शर्माले बताए । ‘खानेपानीका आयोजनाको स्टोर भवन, ममर्तसंभार तालिम र केही आयआर्जनका कार्यक्रमहरु पनि हाम्रो योजनामा छन्’ शर्माले भने–‘सहयोगी रोटरीलाई अनुरोध गरेका छौं, सहयोग आए त्यसबाट कार्यक्रम गर्छौ, नत्र च्वाइसले गर्छ, ढुक्क हुनुस्, खानेपानी आयोजना उद्घाटन गर्ने वित्तिकै च्वाइस चटक्कै छोडेर जाँदैन ।’ च्वाइस नेपालले थाहा नगरपालिकामा विगत १० वर्षदेखि साँझेदार संस्थाको रुपमा काम गर्दै आइरहेको छ ।
रोटरी क्लब अफ काठमाण्डौं मेट्रोका पास्ट डिस्ट्रिक गभर्नर राजीव पोख्रेलले रोटरियनहरुले गरेको सामाजिक कामको लागि गरेको योगदान दामगाडेमा साँच्चै प्रभावकारी भएको बताउँदै दशकौदेखि घ्याम्पोमा जम्मा गरेर फारो गरी पानी खानुपर्ने दिनको अन्त्य भएकोमा खुशी व्यक्त गरे । अन्तराष्ट्रिय संस्था रोटरीमा व्यक्तिले सामाजिक काम गर्नकै लागि दिने अनुदानबाट समुदायको व्यक्तिहरुमा चमक आउँदा दाताहरु आनन्दित हुने उनको भनाइ थियो । पोख्रेलले राजधानीबाट नजिक भएर पनि निकै दुःखमा संघर्ष गरिरहेका गाउँलेहरुलाई आफ्नो संस्थाको तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाए । थाहा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हेम कुमार थिङले दाताहरुको सहयोगमा वडाकै ठूलो योजना सम्पन्न गर्न सहयोग मिलेकोमा खुशी व्यक्त गरे । च्वाइस, रोटरीलगायतको संस्थाले वडा नम्बर ८ लाई हेर्ने दृष्टिकोण सकारात्मक बनाएकोमा खुशी व्यक्त गर्दै नागरिकसंग जोडिएका विकासे काममा साँधै सहयाकार्य हुने उनको प्रतिवद्धता थियो । नगरपालिकाका प्रमुख उपप्रमुखलगायत पनि आग्राको विकासमा सँधै सकारात्मक देखिएकोमा प्रशंसा गर्दै गैरसरकारी संस्थाहरु, पालिका र वडाको संयुक्त सहकार्यबाटै ८ नम्बर वडाको सम्वृद्धि हुने थिङले विश्वास गरे ।
कार्यक्रमको अवसरमा च्वाइस नेपाल, रोटरी क्लबलाई नगरपालिकाले दोसल्लासहित सम्मान गरेको थियो । कार्यक्रममा रोटरी क्लबलका पोख्रेल, पास्ट प्रेसिडेन्ट सशी सत्याललगायतलाई नगर प्रमुख विष्टले सम्मान गरेका हुन् । त्यस्तै वडा कार्यालयले नगरपालिकाका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृतलगायतलाई सम्मान गरिएको थियो । सो अवसरमा उपभोक्ता समितिको कामको उच्च मूल्याङ्कनसहित अध्यक्ष मान बहादुर पाख्रिन, च्वाइस नेपालका प्राविधिक सुवास मरहट्टालाई पनि दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
यसैबीच दामगाडे खानेपानी तथा सरसफाई परियोजनालाई उद्घाटन समारोहकै अवसरमा थाहानगर खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ । अब उक्त आयोजना बोर्डको ऐन अनुसार सञ्चालन तथा व्यवस्थापन हुने भएको छ ।
वडा नम्बर ८ की वडा सदस्य कान्छीमायाँ वाइवाले स्वागत गरेको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, वरिष्ठ इन्जिनियर विनायक शर्मा, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, च्वाइस नेपालका कार्यक्रम निर्देशक किरण न्यौपाने, भिटिङ्गल जिसी, जिल्ला कार्यक्रम संयोजक सुकराम दुलाल, इन्जिनियर प्रकाश बास्तोला, पालुङका प्रताप घिमिरे, सुवास मरहट्टा, वडा सदस्य बद्री थापा, स्थानीय समाजसेवी अरण रायमाझी, विद्युत प्राधिकरण पालुङका राजु पोखरेल, थाहानगर खानेपानी बोर्डका सुरज कुमार भुजेल, पूर्व वडाध्यक्ष टिकाराम मोक्तान, नेपाल तामाङ घेदुङ संघ थाहाका अध्यक्ष दिपक थिङ, पत्रकार शम्भु अधिकारीलगायतकाको आतिथ्यता रहेको थियो । सो अवसरमा तामाङ साँस्कृतिक ढ्याङग्रो नाच समेत स्थानीयहरुले प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्