मकवानपुर थाहा नगरपालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला ८ वैशाखमा भएको छ । क्याम्पस अध्यक्ष तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको अध्यक्षतामा पालुङ क्याम्पसको सभाहलमा परिषद भेला भएको हो ।

परिषद भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै परिषद् अध्यक्ष बिष्टले थाहानगरको शैक्षिक विकासको धरोहरको रुपमा रहेको पालुङ बहुमुखी क्याम्पसको महत्वपूर्ण भूमिका रहने बताए । क्याम्पसको विकासको लागि नगरले सक्दो सहयोग गरिरहने उनले प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षामा सहयोग जति गरेपनि अपुग हुने बताउँदै सामुदायिक क्याम्पस टिकाउन समस्या रहेको तर, समस्याको बाबजुद स्थानीयले क्याम्पस टिकाइ रहेको उल्लेख गरे ।

त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि राजमान महर्जनले जीवन र जगतलाई बुझ्ने र समाजप्रतिको उत्तरदायित्व हुने शिक्षा नै आजको आवश्यकता भएको औल्याएका छन् । आर्थिक अभाव कै कारण क्याम्पस बन्द हुने अवस्था आउन नदिने बताउँदै उनले प्रविधिमैत्री शिक्षाका लागि विश्वविद्यालय तत्पर रहेको बताए । वार्षिकोत्सव समारोहमा क्याम्पस अध्यक्ष बिष्टले आफ्नो वार्षिक नीति तथा कार्यक्रम, क्याम्पसप्रमुख राजन मिश्रले क्याम्पसको वर्तमान अवस्था र भावी योजनाको प्रतिवेदन र क्याम्पसका कोषाध्यक्ष बिमलकुमार ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा विभिन्न संघसंस्थाले प्रदान गर्ने छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी