थाहा नगरपालिकाको चित्लाङमा भएको प्रथम मकवानपुर जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधी छहारी युवा समाज हेटौंडाले जितेको छ । १२ वैशाखमा भएको फाइनल खेलमा आयोजक नेपाली कांग्रेस थाहा ९ लाई पराजित गर्दै समाजले उपाधी चुमेको हो ।
विजयी भएसंगै छहारी युवा समाजले ७५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता काँग्रेस थाहा–९ ले ४५ हजारका साथै तेस्रो हुने सोल्टु युवा क्लवले ३० हजार र सान्त्वना हुने डाँडाबास युवा क्लवले ५ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
८ वैशाखबाट शुरु भएको प्रतियोगितामा मकवानपुर जिल्लाभरका ९ वटा टिमको सहभागिता रहेको थियो ।

पुरस्कार वितरण तथा प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथी रहेका नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले खेलकुद क्षेत्रको समग्र विकासका लागि स्थानीयदेखि संघीय सरकारले ध्यान दिनुपर्ने बताएका छन् । खेलाडीको क्षमता अभिवृद्धिका साथै उनीहरुको मनोबल बढाउँदै स्थानीयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभिनसक्ने बनाउनुपर्नेमा नेता बानियाँको जोड थियो ।
नेपाली कांग्रेस थाहा नगरपालिका ९ नम्बर वडा कार्यसमितिको आयोजनामा नयाँ वर्ष तथा लोकतन्त्र दिवसको अवसरमा स्वर्गीय शालिकराम मानन्धर र तेजबहादुर केसीको स्मृतिमा भएको प्रथम जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सभापति बानियाँले खेलकुद क्षेत्र मुलुकको सान भएको भन्दै यसमा प्रयाप्त बजेट छुट्याउन पहल गरिने प्रतिवद्धता पनि जनाए ।
भलिबल, फुटबललगायतका खेल क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकारमार्फत प्रयाप्त बजेट विनियोजन गर्न पहल गरिने उनले प्रतिवद्धता जनाए । नेपाली कांग्रेसले स्थापनाकालदेखि नै मानवतासँग जोडिनुका साथै सामाजिक कामहरु गरिरहेका बताउँदै खेलकुद क्षेत्रमार्फत शारिरीक तथा मानसिक तन्दुरुस्तीका कामहरुमा पनि ध्यान दिइरहेको बानियाँले बताए । गणतन्त्रमा समावेशी विकासका लागि खेल क्षेत्रको विकास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।
नेपाली कांग्रेस थाहा ९ का उपसभापति बुद्धबहादुर बलामीको अध्यक्षता कार्यक्रम भएको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्