मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ भाटीमा ‘भाटी थुम्कीको लिफ्टिङ प्रणालीको शुभारम्भ गरिएको छ । भाटी थुम्की स्कीम २ खानेपानी योजना उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेश सरकार खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयका मन्त्री श्याम बहादुर खड्काले रिबन काट्नुका साथै खानेपानीको धारा खोलेर १७ वैशाखमा उद्घाटन गरेका छन् । उद्घाटन भएसंगै राक्सिराङ गाँउपालिकाको वडा नं १, २ र ३ का नागरिकले खानेपानीको सुविधा प्राप्त गर्ने भएका छन् ।

खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादुर पिठाकोठीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयका मन्त्री श्याम बहादुर खड्काको प्रमुख आतिथ्यता थियो। कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकार खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयका मन्त्री श्याम बहादुर खड्काले स्थानीय सरकार जनताको सम्पूर्ण आवश्यकता पुरा गर्न लागिपरेको बताउँदै विकास आवश्यकताका आधारमा प्राथमिकिकरण गर्दै लैजाँदा सहज हुने बताए ।

“खानेपानी जनताको मौलिक अधिकार हो र सन् २०३० सम्म बागमती प्रदेशका सबै जिल्लामा शतप्रतिशत पानी पु¥याउने लक्ष्य लिएका छौँ ।”,उनले भने, “सरकारले पानी व्यवस्था गरिदिन्छ तर त्यसको सम्भार जनताले पनि गर्नुपर्छ ।” आफूले पाएको सुविधाहरुलाई दिगो बनाउनका निमित्त जनताले पनि हातेमालो गर्नुपर्ने उनको भनाई थियो ।
हाल पानी वितरण कार्य सुरु हुँदा १०० वटा धारा वितरण गरिएको छ भने यसबाट राक्सीराङ गाउँपालिकाका सानोभावर, गडुवान, भाटी, थुम्की, गैरीगाउँ, गहुँबारी, केराबारी, सरकारी लगायत गाउँका लगभग ६५० घरधुरी लाभान्वित हुनेछ ।

उद्घाटन कार्यक्रममा खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयका प्रमुख सचिव मोहन कुमार शाक्य, राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मन्त्री श्याम बहादुर खड्काका राजनितिक सल्लाहकार राजेन्द्र श्रेष्ठ, खानेपानी कार्यालयका डिभिजन प्रमुख रविन श्रेष्ठ, राक्सिराङ गाँउपालिका उपाध्यक्ष बनस्तम थिङ, इन्जिनियरद्धय सुस्मिता लामिछाने र अस्विन पौडेल, राक्सिराङ गाँउपालिका – २ अध्यक्ष बुद्धराम मोक्तानलगायत उपभोक्ताहरुको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी