मकवानपुर थाहा नगरपालिका–४, नारायण झ्याउकी रुबिना रुम्बालाई वडाको पहलमा नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । रुम्बा शारीरिक एवं मानसिक अपाङ्गता भएर हिँडडुल गर्न सक्दिनन् । वडा कार्यालयकोे समन्वयमा नगरकै सावरी साधनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पु¥याएर १४ जेठमा २२ वर्षीय रुम्बालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
रुम्बालाई प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले प्रशासनको प्राङ्गणमा आएर नागरिकता वितरण गरिन् । उनले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्दै शारीरिक अपाङ्गता भएर जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्नेका लागि प्रशासनले घरमै पुगेर सेवा दिने प्रतिबद्धता जनाइन् । श्रेष्ठले निवेदन आएकाहरूको बारेमा छानबिन भएपछि प्रक्रिया पुर्याएर घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने जानकारी दिइन् ।

थाहा नगरपालिका ४ नम्बर वडाध्यक्ष नारायण लामाको पहलमा नगरपालिकाको गाडीमा हेटौँडा स्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ल्याएर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको थियो । नागरिकताको प्रमाणपत्र भएसँगै अपाङ्गता परिचयपत्र बनाउने प्रक्रिया अगाडि बढाइएको छ । अति अशक्त अपाङ्गता भएकालाई परिवारले नागरिकता बनाउन प्रशासनमा ल्याउन नसक्दा ती नागरिक नागरिकताविहीन हुने र उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न वडा कार्यालय लागिरहेको उनको भनाई छ ।
रुम्बालाई नागरिकता दिलाउनका लागि वडाध्यक्ष लामा सहित वडा सचिव पाल्साङ लामा, वडा सदस्य चन्द्रमाया थिङ, किटेनी रुप्से टोल विकास संस्थाका अध्यक्ष गणेश लामा सहितको टोली थाहा नगरबाट हेटौँडा पुगेका थिए । वि.सं. २०८० सालमा शारीरिक एवं मानसिक अपाङ्गता भएका दुई जनालाई वडा कार्यालयको सक्रियतामा प्रशासनसँग समन्वय गरेर नागरिकताको प्रमाणपत्र दिलाइएको थियो।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्