मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ को ऋषेश्वर क्षेत्र सरसफाई कार्यक्रमले अभियानकै रुप लिएको छ । बौद्ध र हिन्दुहरुको संयुक्त धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको ऋषेश्वरमा क्षेत्र विकास समिति गठनसँगै विभिन्न सामाजिक कामले गति लिन थालेको हो । यसै अन्तर्गत ११ साउन विहान ऋषेश्वर मन्दिरसम्म पुग्ने बाटो सरसफाई गरिएको छ । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले सरसफाई कार्यक्रमलाई अभियान रुपमा थालनी गरे । नगर प्रमुख विष्टले खरेटोले बाटो बडार्दै अभियानको शुभारम्भ गरेका हुन् ।

देशभित्रै र विदेशबाट समेत भक्तजनहरु आइपुग्ने ऋषेश्वर क्षेत्र सरसफाईले अब अभियानकै रुप लिएको ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष बिनोद लामाले प्रतिक्रिया दिए । ‘धार्मिक क्षेत्रमा फोहोर व्यवस्थापनको पनि एउटा चुनौति हो, यसलाई अब हामी सरसफाई अभियान कै रुपमा चलाउँछौं’ अध्यक्ष लामाले भने । क्षेत्र विकास समितिले श्रममा आधारित सरसफाई कार्यक्रमका लागि थाहानगरका विभिन्न क्लब र समूहहरुलाई आव्हान पनि गर्ने जानकारी दिए । ११ साउनमा मात्र ऋषेश्वर मोड (भाडाबाने मोड) देखि मन्दिरसम्मको १ किलोमिटरको दुरी सरसफाई गरिएको छ ।

   

सरसफाई कार्यक्रममा दामन र सिमभञ्ज्याङका बजार व्यवस्थापन समिति, ऋषेश्वर टोल विकास संस्थाका पदाधिकारीहरू, बुद्धचोक बजार व्यवस्थापन समिति, थानाबजार र शिखरकोट बजार व्यवस्थापन समितिका सदस्यहरू, क्षेत्र विकास समितिका पदाधिकारीहरू, नगरका वडा जनप्रतिनिधिहरू, नगर प्रहरी, इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रमले सार्वजनिक सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै धार्मिक क्षेत्रको संरक्षण र प्रवद्र्धनमा समेत योगदान पु¥याउने पुग्ने अध्यक्ष लामाको भनाइ छ । नगर प्रमुख विष्टले सरसफाई अभियानको साथै ऋषेश्वर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पालिका र संघ तथा प्रदेश सरकारसंगको सहकार्यमा अन्य पूर्वाधार विकासका कार्यक्रमहरु सञ्चालन गरिने बताए । अभियानले धार्मिक, पर्यटकीय र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण स्थान मानिने ऋषेश्वर मन्दिर क्षेत्रलाई अझ स्वच्छ र आकर्षक बनाउन योगदान पुग्ने क्षेत्र विकास समितिले अपेक्षा गरेको छ ।

पालिका प्रेस
थप जानकारी