स्थानीय तहहरूमा कामकाज गर्न खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूमध्ये केही कर्मचारीहरू हालसम्म पनि खटाइएको स्थानीय तहमा हाजिर हुन नगएको पाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय,आयोग,सचिवालय,निकाय अन्तर्गत कार्यरत कर्मचारीहरूलाई स्थानीय तहमा कामकाजका लागि खटाएको थियो ।
तर खटाएको स्थानीय तहमा कर्मचारीहरू नगएको पाइएपछि मंगलबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतको पदमा कामकाज गर्न खटाइएका कर्मचारीहरूलाई निजामती सेवा ऐन तथा नियमावलीमा उल्लेख भएका प्रावधान बमोजिम यथाशीघ्र रमाना दिई पठाउन आग्रह गरेको हो ।
मन्त्रालयको आजको सचिवस्तरीय निर्णयले कर्मचारीहरूलाई खटाइएको स्थानीय तहमा पठाउन मन्त्रालय,आयोग,सचिवालय,निकायहरूलाई आग्रह गरेको हो । खटाइएको स्थानीय तहमा कर्मचारीहरू हाजिर हुन नजाँदा स्थानीय तहको नियमित सेवा प्रवाहमा असर परेको भन्दै स्थानीय तहहरूले मन्त्रालयमा गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्