मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको भौतिक सम्पत्तिमा ठुलो क्षति पुगेको छ । भदौ २३ र २४ गतेको जेनजी युवाको आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट उपमहानगर पालिकामा करिब ३२ करोड ५० लाख ७० हजार रुपैयाँबराबरको क्षति भएको तथ्यांक निकालिएको छ । उपमहानगरपालिकाले सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिनाको संयोजकत्वमा गठित क्षति मूल्यांकन समितिले आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको क्षति निकालेको हो ।
समितिका संयोजक तिमल्सिनाका अनुसार उपमहानगरपालिकाको हेटौंडा–२ स्थित मुख्य भवनसहित १, ३, ४, १०, ११, १५ र १९ नम्बर वडा कार्यालयमा क्षति पुगेको छ । उनकाअनुसार ११, १५ र १९ नम्बर वडा कार्यालय भवनमै आगजनी र तोडफोड भएको छ भने अन्य वडामा तोडफोडसहित सामान बाहिर निकालेर जलाइएको छ ।
यस्तै हेटौंडा–११ स्थित प्रादेशिक कृषि थोकबजारमा समेत ठुलो क्षति पुगेको छ । प्राविधिक मूल्यांकन अनुसार उपमहानगरको भवनमा मात्र १६ करोड ३७ लाख ८८ हजार रुपैयाँबराबरको क्षति भएको संयोजक तिमल्सिनाको भनाइ छ । उनकाअनुसार १८ वटा विभिन्न प्रकारका चारपांग्रे सवारीसाधनमध्ये नौवटा पूर्णरुपमा ध्वस्त भएका छन् भने १७ वटा मोटरसाइकल, तीनवटा स्कुटर, एउटा अटो जलेट नष्ट भएका छन् । उपमहानगरका सवारीसाधन पूर्णरुपमा क्षतिग्रस्त हुँदा करिब ६ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
विभिन्न वडा कार्यालय र सेवाकेन्द्रसमेत प्रभावित भई थप आर्थिकभार परेको मूल्यांकन समितिका संयोजक तिमल्सिनाल बताए । ‘आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट उपमहानगरपालिकामा ३२ करोड भन्दा बढीको क्षति भएको देखिन्छ,’ उनले भने, ‘उपमहानगरको मुख्य भवन, केही वडा कार्यालय, सवारी साधन र महत्वपूर्ण कागजात र अभिलेखमा क्षति भएको छ ।’ क्षति मूल्यांकन समितिका संयोजक तिमल्सिनाले जिन्सी शाखा र राजस्व शाखा पूर्णरुपमा क्षतिग्रस्त हुँदा महत्वपूर्ण अभिलेख नष्ट भएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकामा हाल राजस्व संकलनकार्य पूर्णरुपमा ठप्प छ भने स्वास्थ्य महाशाखा, सामाजिक विकास शाखा र पूर्वाधार शाखाबाट अत्यावश्यक सेवा भने निरन्तर प्रदान भइरहेको छ ।











































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्