मकवानपुर थाहा नगरपालिकामा सञ्चालन भएको मेयरकप रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले चुमेको छ । थाहा नगरस्तरीय अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ३ लाई २–१ गोल अन्तरले पछि पार्दै १ नम्बर वडाले उपाधि चुमेको हो । अघिल्लो वर्ष उपविजेतामा चित्त बुझाएको १ नम्बर वडाले यसवर्ष उपाधि कब्जा गरेको हो । गतवर्ष वडास्तरीय मेयर कपको उपाधि थाहा–७ ले चुमेको थियो ।

खेलको पहिलो हाफमा ३ नम्बर वडाको तर्फबाट रोशन तामाङले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिएको भएपनि वडा नम्बर १ को तर्फबाट विनिस अमात्यले जवाफी गोल गरेका थिए । थाहा ३ का लागि रोशन तामाङले गरेको एक गोल नै अन्तिम बन्यो भने थाहा–१ का लागि बिबेक थोकरले गरेको गोल निर्णाय बनाउँदै टिमलाई उपाधि चुमाएका थिए ।

उपाधि चुमेसँगै वडा नम्बर १ ले नगद ५० हजार नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता ३ नम्बर वडाले नगद २५ हजारसहित शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी एवं थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट तथा विशेष अतिथी तथा उप–प्रमुख भरत गोपालीले शिल्ड, मेडल तथा पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा ३ नम्बर वडाका अभियान रायमाझी उत्कृष्ट घोषित भए । उत्कृष्ट गोलकिपरको उपाधि वडा नम्बर १ का प्रचण्ड गोपाली पाए । त्यसैगरी प्रतियोगिता बेष्ट डिफेन्डर वडा नम्बर १ का नवीन श्रेष्ठ हुँदा प्रतियोगिता भर सर्वाधिक गोलकर्ता वडा नम्बर ३ का रोशन तामाङ हुन सफल भए ।

थाहा नगरपालिका खेलकुद विकास समितिका संयोजक टीकाराम स्याङ्तानको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा नेपाली काँग्रैस थाहानगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेकपा माओवादी केन्द्रका थाहानगर सचिव लक्ष्मण विष्ट, वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी, ४ नम्बर वडाका अध्यक्ष नारायण लामा, १ नम्बर वडाका कार्यवहाक अध्यक्ष सरोज प्रधान, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य, थाहानगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख माधवविक्रम मल्ल लगायतकाको आतिथ्यता रहेको थियो । ‎

‎‎थाहा नगरपालिका खेलकुद बिकास समितिको आयोजना तथा खेलकुद विकास समिती ४ नम्बर वडाको व्यवस्थापनमा वडा नम्बर ३ को इन्द्राायणी चौरमा भएको प्रतियोगितामा थाहानगरका ९ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा थाहा नगरपालिकाको डा नम्बर ५, ६ र १० ले सहभागिता नजनाएको खेलकुद विकास समिति थाहा–४ का सुमन विष्टले जानकारी दिए ।

 

पालिका प्रेस
थप जानकारी