एक वर्ष अवधिमा तीन तहका सरकारले ५ खर्ब रुपैयाँभन्दा धेरै पुँजीगत बजेट खर्च गरेका छन् ।

महालेखा नियन्त्रकको कार्यालयले तयार पारेको एकीकृत वित्तीय विवरण (संघ, प्रदेश र स्थानीय सरकार) आर्थिक वर्ष २०८१/८२ अनुसार गत आव तीन वटा सरकारबाट कुल ५ खर्ब १४ अर्ब ३४ करोड रुपैयाँ बराबर पुँजीगत खर्च भएको छ ।

यस आवमा संघीय सरकारले २ खर्ब २३ अर्ब बराबर पुँजीगत खर्च गरेको थियो । ७ वटा प्रदेश सरकारबाट कुल १ खर्ब २० अर्ब ९८ करोड बराबर पुँजीगत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

७ सय ६१ स्थानीय सरकारले भने कुल १ खर्ब ५१ अर्ब ६५ करोड  बराबर पुँजीगत खर्च गरेका थिए । यसरी तीन तहका सरकारबाट भएको खर्चमध्ये दोहोरो खर्च घटाउँदा कुल ५ खर्ब १४ अर्ब ३४ करोड बराबर पुँजीगत बजेट खर्च तीन तहका सरकारबाट भएको देखिएको छ ।

तथ्यांक अनुसार गत आव तीन तहका सरकारको कुल बजेट खर्च भने १८ खर्ब ४४ अर्ब ६२ करोड बराबर थियो । संघीय सरकारले कुल १५ खर्ब १३ अर्ब खर्च गरेको थियो । जुन चालु, पुँजीगत र वित्तीय व्यवस्था तीन वटै शीर्षकमा भएको खर्च हो ।

त्यस्तै ७ प्रदेश सरकारको कुल खर्च १ खर्ब ९८ अर्ब ८० करोड बराबर थियो । ७ सय ६१ स्थानीय सरकारले कुल ४ खर्ब ३७ अर्ब ३९ करोड बराबर खर्च गरेका छन् । यसबाट दोहोरो खर्च घटाउँदा कुल १८ खर्ब ४४ अर्ब ६२ करोड कुल खर्च देखिएको महालेखाको तथ्यांक छ ।

तीन तहका सरकारले एक वर्ष अवधिमा कुल खुद चालु खर्च (दोहोरो परेको घटाएर) ९ खर्ब ९६ अर्ब २७ करोड बराबर गरेका छन् । यसमध्ये संघीय सरकारले कुल ९ खर्ब ५६ अर्ब ५८ करोड चालु खर्च गरेको छ ।

पालिका प्रेस
थप जानकारी