मकवानपुरको भीमफेदी गाउँपालिकाले यस आर्थिक वर्षमा पनि अनौपचारिक क्षेत्रका थप श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने उद्देश्यसहित सूचना आह्वान गरेको छ । गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार कोही पनि श्रमिक सामाजिक सुरक्षा कार्यक्रमबाट बाहिर नपरोस् भन्ने लक्ष्यका साथ यो कार्यक्रमलाई निरन्तरता दिइएको हो।

सूचनाअनुसार चालक, सहचालक, सिकर्मी, डकर्मी, ढङ्गा फुटाएर गिट्टी बनाउने श्रमिक, हलो जोत्ने किसानलगायत अनौपचारिक क्षेत्रका श्रमिकहरूले सामाजिक सुरक्षा कोषमा आबद्ध भई विभिन्न सुविधा तथा पेन्सनको लाभ लिन सक्नेछन्। यसै आर्थिक वर्षमा भीमफेदी गाउँपालिकाले पालिकाभरिका ४८ जना महिला स्वास्थ्य स्वयंसेविका (आमा दिदीबहिनी) हरूलाई पनि पालिकाको सहयोगदानमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी गरेको छ । यसका लागि स्वास्थ्य शाखासँग समन्वय गर्न गाउँपालिकाले अनुरोध गरेको छ।

पालिकाका अनुसार यो कार्यक्रम सम्पन्न भएपछि भीमफेदी गाउँपालिकाभित्र अनौपचारिक क्षेत्रका सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको संख्या करिब ३०० पुग्ने अपेक्षा गरिएको छ। भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच २०८० साउन ३० गते सम्झौता भएको थियो। सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम २०७७ मंसिर ११ गतेदेखि सञ्चालन गर्दै आएको छ।

पालिका प्रेस
थप जानकारी