क्षेत्रीय कारागार भीमफेदीमा लागूऔषध मुद्दाका कैदीबन्दी धेरै रहेका छन् । कारागारमा रहेका मध्ये ३९ प्रतिशतभन्दा बढी कैदीबन्दी लागूऔषध मुद्दाका रहेको कारागार प्रमुखले बताए । मकवानपुरको पूर्वसदरमुकाम भीमफेदीस्थित कारागारमा २२ पुस बिहानसम्म ९ सय ७७ कैदीबन्दी रहेका छन् । तीमध्ये लागूऔषध मुद्दाका ३ सय ८९ जना छन् ।

कारागारमा रहेका लागूऔषधका कैदीबन्दीमध्ये सबैभन्दा धेरै मकवानपुरका रहेको भीमफेदी कारागारका प्रमुख सुवास पौडेलले बताए । लागूऔषध मुद्दाका १५ जना भारतीय नागरिक पनि जेलमा रहेका छन् । उक्त कारागारमा लागूऔषध मुद्दापछि जबरजस्तीकरणी मुद्दाका कैदीबन्दी रहेका छन् । कारागार प्रशासनका अनुसार २ सय ६९ जना कैदीबन्दी जबरजस्ती करणीका छन् भने कर्तव्य ज्यान मुद्दाका १ सय ४५ जना रहेका छन् ।

भीमफेदी कारागारमा पुरुष कैन्दीबन्दी राख्ने २ वटा ब्लक छन् भने महिलालाई पुरानो जेलमा राखिएको छ । उनीहरूको साथ एक बालक पनि आश्रित छन् । भीमफेदी कारागारमा ३४ जना महिला कैदीबन्दी छन् । त्यसमध्ये १२ जना बन्दी र २२ जना कैदी रहेका छन् । उक्त जेलमा ४४ जना विदेशी नागरिक छन् । तीमध्ये २२ जना कैदी र २२ बन्दी रहेका छन् । जेलमा रहेका ९ सय ७७ जना कैदीबन्दीमध्ये ६ सय ९४ जना कैदी रहेका छन् भने बाँकी थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी