हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र सडक विस्तारका क्रममा भत्काइएका जोखिमयुक्त घरटहरामा व्यापार/व्यवसाय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा २२ पुसमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय कार्यान्वयन गर्दै जोखिमयुक्त संरचनामा कुनैपनि प्रकारको व्यवसाय नगर्न तथा नगराउन अनुरोध गरिएको हो ।

सूचनामा उल्लेख गरिएअनुसार अधिकांश घर धनीले स्वेच्छिकरुपमा भत्काइएका संरचनाको व्यवस्थापन गरिसकेका छन् । तर, केही स्थानमा डोजर तथा एक्साभेटर प्रयोगका क्रममा आंशिक रुपमा भत्किएका जोखिमयुक्त घरटहरामा अझै पनि व्यापार/व्यवसाय सञ्चालन भइरहेको पाइएको प्रशासनले जनाएको छ । यस्ता संरचनामा व्यवसाय सञ्चालन गर्दा कामदार तथा सर्वसाधारण उपभोक्ताको सुरक्षामा गम्भीर जोखिम रहने भन्दै संरचना व्यवस्थापनका क्रममा श्रमिकको सुरक्षालाई उच्चप्राथमिकता दिन प्रशासनले आग्रह गरेको छ ।

जोखिमपूर्ण अवस्थामा व्यवसाय सञ्चालनबाट हुनसक्ने कुनैपनि प्रकारका विपद्जन्य घटनाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित घरधनी तथा व्यवसायी स्वयंले वहन गर्नुपर्ने सूचनामा स्पष्ट पारिएको छ ।

पालिका प्रेस
थप जानकारी