बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले औषधीय गुणयुक्त गाँजालाई बैधानिकता दिनको लागि गाँजासम्बन्धी विधेयक ल्याइने प्रतिवद्धता जनाएका छन् । २३ पुसमा मकवानपुरको राक्सिराङ गाउँपालिकाको १९ औँ अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले संसदबाट गाँजासम्बन्धी विधेयक पारित गरी आवश्यक नियम र कार्यविधि बनाएर गाँजालाई प्रशोधन गरी विभिन्न सामाग्री उत्पादन गर्न प्रोत्साहित गरिने प्रतिवद्धता जनाएका हुन् । ‘अब गाँजालाई व्यवस्थित गर्नुछ । गण्डकी प्रदेश सरकारले पनि गाँजासम्बन्धी विधेयक ल्याइसकेको छ । हामीले पनि विधेयक गरेपछि ऐन कानुन नियम कार्यविधि बनाएर संघ प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी गाँजालाई प्रशोधन गरी तेलदेखि क्यान्सरको रोग निको हुने औषधि बनाउनेतर्फ लाग्नुपर्नेछ । अब कुरामा अलमलिने बेला छैन ।’ मुख्यमन्त्री बानियाँले भने । यसअघि पूर्व सांसद विरोध खतिवडाले पनि गाँजालाई वैधानिक बनाउनका लागि बहस चलाएका थिए ।
मकवानपुरको विकट राक्सिराङ गाउँपालिका पनि संघीयतापछि विभिन्न विकासका काम हुँदै सुगमतर्फ उन्मुख हुँदै गएको बताए । गाउँपालिकामा थप सडक विस्तार, पुल निर्माण लगायतमा प्रदेश सरकारले लगानी गरिरहेको र थप बजेटको व्यवस्था गर्ने प्रतिवद्धता पनि उनले जनाए । मनहरीबाट परेवाभीर हुँदै मलेखु निस्कने सडकलाई प्राथमिकताका साथ प्रदेश सरकारले बजेट विनियोजन गरी काम अघि बढाइने पनि मुख्यमन्त्री बानियाँले बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, मुख्यमन्त्री बानियाँका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, मनहरी ३ नम्बर वडाका अध्यक्ष उत्तम वाइबा, पूर्व वडाध्यक्ष बाबुलाल स्याङ्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमकै बीच विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई गाउँपालिकाले सम्मान समेत गरेको थियो । हिउँदे अधिवेशन उद्घाटनसँगै मुख्यमन्त्री बानियाँले गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनसमेत उद्घाटन गरेका थिए ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्