नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको ११औँ वार्षिक साधारण सभा तथा विषादी व्यवसायी संघ नेपाल जिल्ला समन्वय समिति मकवानपुरको दोस्रो वार्षिक साधारण सभा हेटौंडामा भएको छ ।

साधारण सभा नेपाल बीउ व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्णकाजी प्रधानको अध्यक्षतामा तथा कृषि विकास कार्यालय भरतपुरका प्रमुख झलकनाथ कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि कंडेलले सिँचाइ, माटो र मलको अवस्था यथावत् रहे पनि गुणस्तरीय बीउ प्रयोग गरेमा १५ देखि २० प्रतिशतसम्म उत्पादन वृद्धि हुन सक्ने तथ्य प्रस्तुत गरे ।

अनुसन्धानका आधारमा उहाँले कृषिको समृद्धिमा बीउ र विषादीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसमा ७५ प्रतिशत योगदान व्यवसायीहरूको हुने धारणा राखे । उनले बीउ व्यवसायी अनुमतिपत्र नवीकरणसम्बन्धी कानुनी प्रावधानमा सहजीकरण गर्ने विषयमा जानकारी गराउँदै बीउ तथा विषादी व्यवसायीहरूले उठाएका मागहरू समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

साधारण सभामा नेपाल बीउ व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्णकाजी प्रधानले वार्षिक अध्यक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, विषादी व्यवसायी संघ मकवानपुरका सचिव नेत्रप्रसाद ढुंगेल र नेपाल बीउ व्यवसायी संघ मकवानपुरका सचिव फेन्चु रुम्बाले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा नेपाल बीउ व्यवसायी संघका महासचिव तथा विषादी व्यवसायी संघका पूर्व सचिव विश्वराज बानियाँ, नेपाल बीउ व्यवसायी संघका केन्द्रीय सदस्य रमेश अर्याल, नेपाल बीउ व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष हरिशरण अर्याललगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी