बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा २ वटा विद्येयक पारित भएको छ भने ३ वटा ऐन संशोधनका विद्येयकहरु पेश भएको छ । बैठकले प्रदेश पर्यटन विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पारित गरेको हो ।

बैठकमा सम्बन्धित समितिको प्रतिवेदनसहित प्रस्तुत गरेको प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सामाजिक विकास मन्त्री कुमारी मोक्तानको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेका थिए ।

यसैगरी, सम्बन्धित समितिको प्रतिवेदनसहितको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रस्तुत गरेका थिए । पारित भएका दुवै विद्येयकहरु अब ऐन बन्ने छन् ।

यस्तै, बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले केही प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ र प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधनका लागि सदनमा पेश गरेका छन् । उनले संशोधनका लागि पेश गरेको विद्येयकहरु सम्बन्धित समितिहरुमा दफावार छलफलका लागि पठाइएको छ ।

त्यस्तै, मन्त्री खनालले प्रदेश अनुसन्धान व्यूरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सदनमा पेश गरेका छन् । उनले पेश गरेको सो विद्येयक माथि सदनमा छलफल हुनेछ ।

सोे बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । विगत करिव ३ महिनादेखि सदनमा अवरोध गर्दै आएको एमालेले उनको जवाफ पछि भने सदन चल्न दिएको छ ।

पालिका प्रेस
थप जानकारी