हावाहुरीको मौसम शुरु भएसँगै वन क्षेत्रमा डढेलो लाग्न शुरु भएको छ। वर्षेनि डढेलोले ठूलो मात्रामा वनको क्षति हुने गरेको छ। डढेलो नियन्त्रणका विभिन्न प्रयास भए पनि वनमा आगलागी भने रोकिन सकेको छैन।
वर्षेनि गर्मीयाममा वनमा डढेलो लाग्ने क्रम घट्नुको साटो बढ्दै गएको देखिन्छ। चैत महिना शुरु भएसँगै सुक्खा बढ्ने हुनाले जेठ महिनासम्म प्रत्येक वर्ष वन–जंगलमा डढेलोका घटना बढ्ने गरेका छन्। डढेलोका कारण मकवानपुरमा चिरान काठसहित खानेपानी पाइपदेखि धेरै सम्पत्तिको क्षति, जंगली जनावरको पनि आगलागीका कारण मृत्यु हुने गरेको छ।
गत आर्थिक वर्षमा भीमफेदी गाउँपालिकामा मात्रै ११ वटा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको थियो। जसबाट ३०६ हेक्टर क्षेत्रफलमा क्षति पुगेको डिभिजन वन कार्यालय मकवानपुरका सूचना अधिकारी दीपक अधिकारीले जानकारी दिए। उनका अनुसार मकवानपुरगढीका १९ वटा सामुदायिक वन क्षेत्रमा लागेको डढेलोबाट ४७६ हेक्टर क्षेत्रफलमा क्षति पुगेको थियो।
त्यसैगरी जिल्लाका विभिन्न पालिकाको वनमा लागेको डढेलोले गत वर्ष आँखा हेर्न र सास फेर्न समेत समस्या भएको थियो। मकवानपुरमा मात्रै होइन बागमती प्रदेशका १३ जिल्लासहित देशैभरि सुक्खायाममा लाग्ने वन डढेलोले रूख तथा बोटविरुवा, जंगली जनावरको विनाश हुनुका साथै वातावरण पनि प्रदूषित हुने गरेको छ।
५० हेक्टर वनमा डढेलो
यो वर्ष पनि बागमती प्रदेशका ३ जिल्लाको ५० हेक्टर क्षेत्रफलको वनमा डढेलो लागिसकेको छ। सुक्खायाम शुरु भएसँगै प्रदेशको विभिन्न जिल्लामा रहेको वन क्षेत्रमा डढेलो लाग्न थालेको हो। बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत सञ्जीव सुवेदीका अनुसार प्रदेशको चितवन, ललितपुर र सिन्धुपाल्चोकको वनमा डढेलो लागेको हो।
उनले अन्य जिल्लाको वनमा पनि डढेलो लागेको हुन सक्ने भए पनि हालसम्म आफूहरूले त्यसको विवरण नपाएको बताए। सुवेदीका अनुसार यो चैत महिनामा मात्रै चितवन जिल्लाको २५ हेक्टर, ललितपुरको २३ हेक्टर र सिन्धुपाल्चोकको २ हेक्टर वनमा डढेलो लागेको छ।
सुवेदीले प्रदेशका १३ वटै जिल्लासँग वन डढेलोको विवरण पठाउन माग गरेको भए पनि हालसम्म ३ वटा जिल्लाले मात्रै विवरण पठाएको भन्दै वन डढेलो लागेको वनको क्षेत्रफल बढ्न सक्ने बताए।
उनले भने‚ ‘हामीले प्रदेशका १३ वटै जिल्लालाई वनमा लागेको डढेलोको रिपोर्ट पठाउन भनेका छौँ तर हालसम्म ३ वटा जिल्लाले मात्रै पठाएकाले ५० हेक्टरमा वन डढेलो लाग्यो भनिएको हो। यो संख्या बढ्न पनि सक्छ।’
छैन पूर्वतयारी
बागमती प्रदेशको कुल क्षेत्रफलको ५९.२७ प्रतिशत अर्थात् १२ लाख ४३ हजार ८४४ हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ। निकुञ्ज समेत रहेको बागमती प्रदेशका यी वन जंगलमा लोपोन्मुख जंगली जनावर पनि रहने गर्दछन्। वनमा लाग्ने डढेलोले रूख तथा वोटविरुवाको मात्रै क्षति हुँदैन त्यस्ता लोपोन्मुख जंगली जनावरको पनि क्षति हुने गरेको छ।
सुक्खायाम लागेर वन डढेलो समेत शुरु भइसक्दा समेत डढेलो नियन्त्रणका लागि प्रदेश सरकारले आवह्यक पूर्वतयारी समेत गरेको छैन। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जिल्लास्थित डिभिजन वन कार्यालयबाट सचेतनामूलक कार्यक्रम गरिए पनि डढेलो नियन्त्रणका लागि सरकारले पूर्वतयारीका योजना भने नबनाएको हो ।
मन्त्रालयका शाखा अधिकृत सुवेदीका अनुसार हालसम्म मन्त्रालयले डढेलो नियन्त्रणका लागि प्रदेशका केही जिल्लालाई ह्याण्डपम्प लगायतको उपकरण वितरण भने गरेको छ।
बागमती प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एउटै थियो तर एउटैमा सबै मन्त्रालय हुँदा वन क्षेत्र छायाँमा परेको भन्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वन तथा वातावरण मन्त्रालय फुटाएर छुट्टै खडा गरेका थिए।
डढेलो लगाउनेलाई कारबाही गर्न अक्षम
मकवानपुरको डिभिजन वन कार्यालयले विगत धेरै वर्षदेखि डढेलो लगाउनेमाथि कारबाही गर्न सकेको छैन। कार्यालयका सूचना अधिकारी दीपक अधिकारीका अनुसार डढेलो लगाउने पक्राउ नपर्दा र कारबाही हुन नसक्दा पनि यसलाई नियन्त्रण र रोकथाम गर्न नसकिएको हो। डढेलो लगाउनेलाई ६० हजार जरिवाना, तीन वर्ष जेल सजाय वा दुवै हुन सक्ने कानुनी प्रावधान छ तर डढेलो लगाउनेलाई कुनै कारबाही नभएको अधिकारी नै बताउँछन्।
उनले डढेलो लगाउनेको पहिचान हुन नसकेको र पहिचान भएमा प्रमाण पुग्न नसक्ने भएकाले दोषी उम्किँदै आइरहेको उनले बताए। कारबाही गर्न डिभिजन वन अक्षम रहेका कारण पनि डढेलो नियन्त्रण हुन नसकेको गुनासो हुने गरेको छ। डढेलो स्थानीयहरूको लापरवाही र वन पैदावरको अनुचित लाभ लिने उद्देश्यले धेरै डढेलो लाग्ने गरेको अनुसन्धानबाट पत्ता लागेको अधिकारीले जनाए।
मकवानपुरमा लागेका अधिकांश डढेलो ‘नियोजित’ भएको अधिकारीको भनाइ छ। चुरोटलगायतका प्रज्वलनशील वस्तु जंगल क्षेत्रमा फाल्ने, आगो पूर्णरूपमा ननिभाउँदा डढेलो लाग्नेलगायतका थुप्रै कारण रहेको उनी बताउँछन्। प्राकृतिक कारणले वनमा डढेलो लाग्ने घटना ज्यादै न्यून रहेको उनको भनाइ छ। थाहा खवरबाट साभार ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्