मकवानपुरको कैलाश गाउँपालिका भौगोलिक रूपमा निकै विकट छ । तर, प्राकृतिक सुन्दरता र रोमाञ्चक यात्रा गर्न मन पराउँनेहरूका लागि यो पालिका निकै आकर्षक हुन सक्छ । कैलाश गाउँपालिका धार्मिक र पर्यटकीय हिसाबले पनि अति महत्वपूर्ण छ ।

कैलाशको वडा नम्बर १ र २ को सिमानामा रहेको गुप्तेश्वर गुफाले धेरैको मन लोभ्याउन सक्छ । तर, भौगोलिक विकटता र प्रचार–प्रसारको अभावमा यो धार्मिक र ऐतिहासिक गुफा ओझेलमा परेको छ । वडा नम्बर १ स्थित छ्याङदुङबाट उत्तरपूर्वतर्फ घट्टेखोलाको किनारमा रहेको उक्त गुफा कैलाश डाँडा र वैकुण्ठ (विष्णुकुण्ड)को फेदीमा अवस्थित छ । यो गुफा यहाँका स्थानीयका लागि ऐतिहासिक र धार्मिक रूपमा महत्वपूर्ण रहेको गाउँपालिकाका अध्यक्ष लोक मोक्तान बताउँछन् । करिब दुई सय मिटर लामो गुफाभित्र धाराबाट जल झरेर शिवलिंगमा अर्पण भएको देख्न सकिन्छ । घुमाउरो सुरुङमा हातखुट्टा टेकेर निहुरिएर मात्र प्रवेश गर्न सकिने गुफाको भित्री भागमा दुईवटा कोठा छन् । गुफाभित्र हीराजस्तो चम्कने ढुंगा छ भने शिवलिंग, हात्तीको सुँड, कलात्मक मादल, चिल, खेतका गह्रालगायत फूलका आकृति पनि देख्न सकिन्छ ।

सुरुङको माथिल्लो भागमा मादलजस्ता आकृति छन् । सेतो पदार्थले बनेका ती मादलजस्ता आकृतिलाई हातले छुँदा मादलको जस्तै आवाज निस्कन्छ, जुन यस गुफाको अर्को रोमाञ्चक र आकर्षक भाग हो ।गुफाभित्र प्रवेश गर्दैगर्दा ढोकाको आकृति रहेको प्रवेशद्वार पार गरेपछि सानो हात्तीको आकृति र केही देवीदेवताका मूर्तिका आकारसँगै गुफाको माथिल्लो भागको आकर्षक बनोट देख्न सकिन्छ । गुफाभित्र देखिएका विभिन्न स्वरूपका आकृतिलाई स्थानीयले लामो समयदेखि दैवीशक्तिको स्वरूप ठानी पूजाअर्चना गर्दै आएका छन् ।

गुफाको अन्तिम भागको तलतिर मानिस छिर्न नसक्ने सुरुङ छ भने माथिल्लो भागमा घुमाउरो सुरुङ छ । उक्त क्षेत्रलाई स्वर्ग जाने बाटो अर्थात् स्वर्गद्वारी नामाकरण गरिएको छ । सो सुरुङमा प्रवेश गर्न निकै कठिन छ । गुफाको शिरबाट उत्तरतर्फ हेर्दा भने आकर्षक हिमशृंखला देख्न सकिन्छ । गुफाको बाहिर सङ्लो झरना, आडैमा रहेको मन्दिर र गुफाको वरपरबाट देखिने खोला खर्कको मनमोहक दृश्यले गुप्तेश्वर गुफालाई थप आकर्षक बनाएको छ । बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौंबाट दुईवटा रुट प्रयोग गरेर उक्त गुफासम्म पुग्न सकिन्छ । यस्तै, चितवन र धादिङतर्फबाट पनि गुफासम्मको यात्रा गर्न सकिन्छ । काठमाडौंबाट धादिङको गल्छी हुँदै गजुरी र गजुरीबाट कैलाश डाँडासम्मको करिब २० किलोमिटरको कच्ची सडकको यात्रापछि गुप्तेश्वर गुफा पुग्न सकिन्छ भने हेटौँडाबाट मनहरी हुँदै करिब ६० किलोमिटरको दूरी पार गरेपछि पनि उक्त गुफा पुगिन्छ ।

यस्तै हेटौँडाबाट भैँसे हुँदै नामटार कालिकाटारबाट करिब ७० किलोमिटर यात्रा गरेपछि यो गुफासम्म पुग्न सकिन्छ । थाहा नगरपालिकाको डाँडावास हुँदै पकनी, छ्याङ्दुङ सडक खण्डबाट ३० किलोमिटर यात्रा गरेपछि गुफा पुग्न सकिन्छ । पालुङबाट डाँडावाससम्म पक्की र त्यसअघि कच्ची सडकको रोमाञ्चक यात्रापछि पनि यो गुफामा पुगिन्छ । पालिकाले धार्मिक र सांस्कृतिक रूपमा जोडिएको कैलाश पर्वत र वैकुण्ठलाई समेत जोडेर यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न डिपिआर तयार पारिसकेको पालिकाका अध्यक्ष मोक्तानले जानकारी दिए ।

अध्यक्ष मोक्तानका अनुसार पालिकाले यस क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सहजताका लागि पहिलो चरणमा सुरुङसम्म पुग्ने मार्गको स्तरोन्नति र पक्की सडक बनाउन संघ र प्रदेश सरकारसँगको सहकार्यमा पहल थालेको छ । गाउँपालिकाले गुफाबाट कैलाश पर्वत र वैकुण्ठ जोड्ने गरी डिपिआर तयार गरेको छ । सिँढीमार्फत गुफाबाट कैलाश, विष्णुकुण्ड र डाँफेपार्कलाई जोड्ने योजना बनाएको छ । पर्यटकका लागि बस्ने र खाने व्यवस्था गर्न संघ र प्रदेश सरकारसँगको सहकार्यमा स्थानीयवासीलाई पर्यटन व्यवसायमा जोड्न होमस्टे सञ्चालनका लागि पनि योजना बनाइरहेको अध्यक्ष मोक्तानले बताए ।

उनले प्रत्येक वर्ष बालाचतुदर्शीको दिन गुप्तेश्वर गुफामा भव्य मेला लाग्ने गरेको जानकारी दिए । ‘बालाचतुदर्शीको दिन भक्तजनले पितृको सम्झनामा गुप्तेश्वर महादेव मन्दिरपरिसरमा शतवीज छर्ने र बत्ती बाल्ने गर्छन्,’ उनले भने । -नयाँपत्रिकाबाट

पालिका प्रेस
थप जानकारी