मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौरमा लोपोन्मुख कोदो प्रजातिको घोंगे (पर्ल मिलेट) फेला परेको छ । मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीका अनुसार–‘रैथाने बाली प्रवद्र्धनका सिलसिलामा मकवानपुरगढीमा पुग्दा लोपोन्मुख पर्ल मिलेट भेटिएको हो ।’

बुढीचौरका कृषक ङेमा स्याङ्तानको घरमा घोंगे भेटिएको हो । कृषक स्याङ्तानका अनुसार आफुसँग पनि सिमित भएकोले अलिअलि लगाएर बिउ जोगाउने काम मात्रै गरिएको छ । घोंगेलाई तामाङ भाषामा तोङ्गे भन्ने गरिन्छ । यसको वैज्ञानिक नाम ‘सेञ्चुरस अमेरिकानस’ हो ।

नेपालमा पाइने रैथानेबालीहरुमध्ये पर्ल मिलेट एउटा लोपोन्मुख बाली हो । अहिलेका पुस्तामध्ये कतिपयले यस बालीलाई देखेका समेत छैनन् । पर्ल मिलेट नेपालमा हाल खासै पाइएको छैन । पौष्टिकताको हिसाबले भरिपूर्ण यो बाली सबैभन्दा बढी भारतमा खेती गरिन्छ । भारतपछि यसको सबैभन्दा बढी उत्पादन गर्ने देश अफ्रिका हो । यसको उत्पादन अफ्रिकाबाट सुरु भएको मानिन्छ । यसलाई हिन्दीमा बाजरा भनिन्छ ।

विशेषगरी भारतको तमिल र कर्नाटक क्षेत्रमा पाईने चर्चित परिकारहरुमा यसको प्रयोग गरिन्छ । यसबाट विशेष गरी रोटी तयार पारिन्छ । साथै खानाका अन्य परिकारसँगै बियर बनाउन पनि यसको प्रयोग हुन्छ । यसको अन्नसँगै अन्य भागको पनि महत्व छ । यसको बोट ईन्धन तथा अन्य घरायसी कामका लागि पनि प्रयोग गरिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन पाईन्छ । सुख्खा र गर्मी स्थानमा समेत खेति गर्न सकिने भएकोले यो रैथाने बालीको छुट्टै महत्व छ ।

पालिका प्रेस
थप जानकारी