• शर्मिला तिमल्सिना

चित्लाङमा रिसोर्ट बुकिङ भए अनुसार माघ २५ गते सेवा सदन विद्यालय बत्तिसपुतलीको प्राङ्गणबाट कक्षा ८ का १५ जना शिष्यहरूको साथमा चालक दिपेश श्रेष्ठले चलाएको बा ४ ख ७४६९ नम्वरको बसमा चढेर निस्किएको हाम्रो यात्रा कलङ्की हुँदै थानकोटको केबलकार छेउमा पुग्यौँ । रिसोर्टबाट हामीलाई लिन थानकोट केबलकारमै रिसोर्टका कर्मचारी अमर थापा आइपुग्नु भयो । टिकट काटुन्जेल सबै जना मनोमोहक दृश्यमा फोटो खिच्न थाल्यौँ । टिकट काटेर माथि चन्द्रगिरीमा पुगेर फेरि त्यहाँबाट देखिएको हिमालसँग फोटो खिच्न मन नलाग्ने कुरै भएन । त्यहाँ पनि फोटो खिचेर अघि बढ्यौँ ।

सतिदेवीको निधार पतन भएको ठाउँ भालेश्वरको दर्शन गरेर त्यहाँका पुजारी बिदुर न्यौपानेको हातबाट प्रसाद ग्रहण गरियो । त्यसपछि नेपाल एकिकरणका पिता पृथ्वीनारायण शाहको सालिकसँग फोटो खिचेर त्यहाँबाट देखिने रमणीय दृष्य नियालेपछि पैदलयात्राबाट चित्लाङ तर्फ ओरालो लाग्यौँ । देउराली भञ्ज्याङ् पुग्ने बित्तिकै थकाइ लाग्यो । त्यहाँबाट पनि जङ्गलै जङ्गल हुँदै ओरालो लाग्यौ । कतै कतै त हिड्ने बाटो कता हो भन्ने पत्तै नहुने रहेछ । आन्तरिक तथा बाह्य पर्यटक पदयात्रा गर्ने ठाउँ अलिकति चिप्लियो भने खुट्टा भाँचिने खालको थियो ।

हाम्रो समूहबाट पनि नलड्ने त कुरै भएन । आरुसी मण्डल र अक्क्षिता थापा त ओरालो झर्दै गर्दा चिप्फिएर लडिहाले । आरुसीको अलिकति घुडामा चोट लाग्यो । धन्न हात खुट्टा भाँचिएन । दिक्कलाग्दो बाटो रहेछ । धेरै पर्यटकहरू ओहोर दोहोर गर्ने बाटोमा खुड्किलै खुड्किलो बनाएर पदयात्रालाई सहज हुने बनाएको भए दुर्घटनाबाट वच्न सकिन्थ्यो होला ।

कोही हिड्न सक्ने कोही नसक्ने करिब तीन घण्टा हिडेपछि बल्ल चित्लाङ पुग्यौँ । सुरुमै देखियो महाकवि लक्ष्मीप्रसाद देवकोटा चित्लाङ पुग्दा त्यो बाटो हुँदै पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने र फर्कने पैदलयात्रीहरूलाई देखेपछि देवकोटाले यात्री कविता कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो भन्ने कविता लेख्नु भएको ढुङ्गेधारा देखियो । त्यो धाराबाट पाइप लगाएर पानी कतै लगिएको दृष्य देखियो । त्यहाँ पनि फोटोको दृश्य नलिने कुनै भएन । प्यारागाइडिङ गर्ने ठाउँ पनि देखियो ।

अगाडि बढेपछि तीन गजुर भएको पुरानो त्रिगजुरेश्वर मन्दिर देखियो । त्यहाँबाट अगाडि बढेपछि हामी सिधै देवेन्द्र नेपालले संचालन गर्नु भएको चित्लाङ अर्गानिक रिसोर्टमा पुग्यौँ । एकातिर थकाइ अर्कोतिर भोकले पेटमा मुसा दौडिरहेको थियो । हामी पुग्नासाथ त्यहाँका म्यानेजर उत्तम गुबाजुले स्वागत गर्नुभयो । हामी हात खुट्टा धोएर डाइनिङ हलतिर लाग्यौँ । प्राय चित्लाङकै अर्गानिक खाना खुवाउने रहेछ, सबैजना लाइनबद्धसँग खाजा खान लाइन बस्यौँ । भुटेको मकै, फुरुन दाना ,साधेको आलु, गुन्द्रुक, भटमास र बदाम साँधेको खाजा रहेछ । खाजा खाएर यताउति टहलियौँ । झमक्क साँझ पर्‍यो ।

हामीलाई दिइएको सेडुलमा भए अनुसार बेलुका क्याम्प फाएरसँङ्गै मनोरञ्जन पनि थियो । कोहि आगो ताप्ने कोही गीतमा नाच्ने गर्दा गर्दै खाना खाने समय भयो । खाजा खाएपछि त्यहाँका म्यानेजर गुबाजुले यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको र ऐतिहासिक यस ठाउँमा बिदाको दिन त एकछिन पछि फुर्सदै नहुने बताउनुभयो । यसरी पर्यटकलाई स्वागत गर्न पाउँदा खुसी छौँ गुबाजु बताउनुहुन्छ । दाल भात, चिकेन करि, गुन्द्रुक ,आलु काउली ,आलु साँधेको परिकार खायौँ ।

चिसो सिरेटो हुँदाहुँदै पनि राती १० बजेसम्म मनोरञ्जन गरेर आ आफ्नो कोठामा गएर सुत्यौँ । बिहान उठेर आठ बजे नास्ता खाएर साइकलिङ गर्नेहरू केहीबेर गरे अनि गाउँ घुम्न गयौँ । त्यसै रिसोर्टका म्यानेजर उत्तम गुबाजुको सहयोगले सिधैँ श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालय पुग्यौँ । विद्यालय देख्ने बित्तिकै कस्तो थोत्रो विद्यालय रहेछ भन्ने भान भयो । त्यहाँका सहायक प्रधानाध्यापक संजिव नेपालले हामीलाई स्वागत गर्नुभयो । उहाँले त्यस विद्यालयको बारेमा जानकारी गराउनुभयो ।

राणाकालको समयमा राजा र राणाहरू सोखिन थिए ,विभिन्न ठाउँ घुम्न जानू पर्ने, सिकार खेल्न जानू पर्ने ,जङगबहादुरनै भारत हुँदै युरोप घुमेर आए । त्यतिबेला त्रिभुवन अन्तराष्ट्रिय विमास्थल थिएन, गाडिको सुविधा थिएन । चित्लाङको बाटो हुँदै तराई काठमाडौं ,काठमाडौं तराई र विभिन्न ठाउँ घुम्न जाने क्रममा ओहोर दोहोर गर्ने बाटो चित्लाङमा राजा र राणाहरू सुरक्षाको दृष्टिकोणले छुट्टाछुट्टै बास बस्नको लागि वि. स. १९६२–०६५ तिर चन्द्रशमशेरको पालामा बनाइएको दुईवटा दरवार हाल श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको पुरानो भवन रहेको कुरा सोही विद्यालयका सहायक प्रधानाध्यापक संजिव नेपालले जानकारी गराउनुभयो ।

वि.स. २००७ साल अगाडि उनीहरूले प्रयोग गर्थे भने प्रजातन्त्र आएपछि वि.स. २०१४ सालमा भाषा पाठशालाबाट सुरु भएको उक्त विद्यालय आधारभूत हुँदै वि.स २०४३ सालमा माध्यमिक विद्यालय भयो भने वि स २०६३ सालदेखि उच्च माध्यमिक विद्यालय हाल सञ्चालनमा छ । त्यसै विद्यालयको प्राङ्गणबाट चन्द्रागिरीको नाम कसरी रहन गयो भन्ने कुरा पनि प्रत्यक्ष (चन्द्र भनेको चन्द्रमा र गिरि भनेको पहाड) खुर्पे चन्द्रमा आकारको गिरि देखाउनुभयो । चन्द्रमा आकारको गिरि भएकोले चन्द्रागिरि भनिएको हो तर अहिले वि स २०१५ पछि चन्द्रागिरी हिल्स कम्पनी भन्ने धेरैको बुझाइ परेको हो। त्यो होइन भन्दै सोही पहाड देखाउनुभयो ।

यस विद्यालयको नजिकै रहेको स्वच्छन्द भैरव मन्दिरको नामबाट यस विद्यालयको नाम पनि श्री स्वच्छन्द माध्यमिक विद्यालय राखिएको रहेछ । त्यसपछि विद्यालय छेवैमा बाख्राको दुधबाट बन्ने चिज पाइने रहेछ । त्यहाँ गोट चिज अवाइलेवल भनेर लेखिएको देखियो र थोरै चिज पनि चाखियो । स्वादिलो चिज चाखेर हामी सिधै सात धारातर्फ लाग्यौँ । उक्त धाराको पनि ऐतिहासिक महत्त्व रहेछ। पौराणिक कालमा विभिन्न सप्तऋषिहरू एकैपटक नुहाउन मिलोस् भनेर सात धारा बनाएको भन्ने गरिन्छ एकाथरि भने अर्कोथरि वाणासुर नाम गरेको राक्षसको छोरी हुनुहुन्थ्यो रे चित्रलेखा मैयाँ भन्ने उहाँ चाहिँ स्वर्णितपुर भन्ने पहिलाको थानकोट र उक्त ठाउँ एउटै राज्य भएकोले, नजिक पनि भएकोले उहाँ नुहाउन आउने ठाउँ भएकोले यो ठाउँलाई चित्रापुर भन्ने गरेको र त्यहि चित्रापुर नाम विकसित भएर चित्लाङ भनिएको भन्ने कुरा पनि गर्नुभयो र सातवटा ढुङ्गेधारा भएकोले सातधारा भनिएको रहेछ ।

यो धारा भएको ठाउँलाई मात्र होइन त्यस क्षेत्रलाई नै सात धारा भन्ने गरिएको रहेछ । पहिलाका मानिसहरू यहि बाटो हुँदै नुन लिन विरगञ्ज ठोरीसम्म जान्थे रे नुन लिन जाने बाटो, अहिले जस्तो नुन पाइदैनथियो । काठमाडौंका नेवारहरू पनि छोटो बाटो भनेर यही बाटो नुन लिन जान्थे र नुन भनेको चिँ र बाटो भनेको लँ चिँल भन्ने नाम विकशित भएर चित्लाङ भन्ने गरेको भनेर जानकारी पाइयो । अर्को ऐतिहासिक कुरा गौतम बुद्धको अनुयायी अशोकाको छोरी चारुमतिको पालामा काठमाडौं उपत्यका आउन राजमार्ग बनेको थिएन पैदलयात्रीहरूले छोटो बाटो चन्द्रागिरी चित्लाङ भिमफेदी हेटौंडा जान आउदै गर्दा जस्तै पाटनमा चारवटा ,चावहिलमा चारुमति त्यसै समयमा चित्लाङमा भएको चैत्य पनि बनाइएको रहेछ ,त्यस कारण पनि चैत्य हुँदै जाने बाटो पनि भन्ने गरिएको हो ।

काठमाडौं उपत्यका नेवार समुदायको बाहुल्यता भएको ठाउँ यहाँका नेवार समुदायका मानिसहरू पनि यो बाटो हिड्ने गर्थे उनीहरूको भाषामा जिभा भनेको चैत्य ओने भनेको जाने र नँ भनेको बाटो जिवा ओने नँ चैते जाने बाटो अथवा चैत्य ओने नँ शब्द विकसित भएर चित्लाङ भनिएको हो भन्ने पनि गरिन्छ भनेर यी सबै कुरा सहायक प्रधानाध्यापक नेपालले जानकारी गराउनुभयो । यस्तो ऐतिहासिक महत्त्व बोकेको ठाउँ र संरचनाहरूको सबैले संरक्षण गर्नु पर्दछ । २६ गते बिहान गाउँ घुम्दै गर्दा चित्लाङ जाने बाटोमा एकै परिवारको पाँचजना सदस्यहरू स्मारिका गौतम, ओमकारनिधि तिवारी, कल्पना तिवारी, डा. महेश कुमार गौतम र प्रियान्स गौतमको प्र.३–०१–२३च ६९८५ नम्वरको कार दुर्घटनामा ज्यान गुमेको कुराले सबैको मन नदुख्ने कुरै भएन ।

कच्ची बाटो हेर्दा पनि डरै लाग्ने रहेछ। चन्द्रागिरी हिल्स लिमिटेटले आफ्नो व्यापार घट्छ भनेर चित्लाङ जाने बाटो बनाउन नदिँदा यस्तो दुर्घटना हुन गएको भन्ने कुरा चित्लाङबासीको आरोप छ । गाडी जाने बाटो देउराली भञ्ज्याङबाट भालेश्वर पुग्न जम्मा १० मिनेट पैदल यात्रामा पुगिने रहेछ । यति जानकारी पाएपछि बसेकै रिसोर्टमा खाना खाएर गएकै बसमा इन्द्रसरोवर गाउँपालिका १ मार्खुतर्फ लाग्यौँ । कुलेखानी जलविद्युत आयोजनाको लागि बनाइएको इन्द्र सरोबर बाँधमा बोटिङ गरणन गयौँ ।

हामीलाई ३८ सालदेखि डुङ्गा चलाउदै आउनु भएका ५९ वर्षिया ठुलोकान्छा गोलेले डुङ्गा सवार गराउनु भयो । सबैले र्याफ्टिङको मजा लियौँ । उहाँसँग निकै रमाइला गफ भए । अब भत्ता खान पाउने बेला भयो नानी भन्ने कुराले टिठ लागेर आयो । त्यो उमेरमा पनि यति मेहनत । उहाँको मेहनतलाई सम्मान छ । जापान र कोरियाको सहयोगमा उक्त ड्याम बनेको कुरा पनि उहाँले सुनाउनुभयो ।इन्द्रसरोबर पुगेर फर्किदा बसका चालक दिपेश श्रेष्ठले भेडा फाम पनि देखाउनुभयो हामीले त्यो ठाउँ पनि नियाल्ने मौका पायौँ । काला सेता भेडाहरू चरिरहेका थिए । त्यसपछि हामी काठमाडौंतर्फ लाग्यौँ ।

देउराली भन्ज्याङबाट ओरालो लाग्दा कहालीलाग्दो नागबेली बाटो आङै जिरिङ्ग हुने खालको थियो ।झन् मन मनमा भर्खरै भएको एकै परिवारको पाँच जना सदस्य गुमेको घटनाले र उक्त ठाउँ देख्दा काठमाडौं पुग्न पाए कति आनन्द हुने जस्ता कुराहरूले मनमा कुरा खेल्दा खेल्दै काठमाडौं आइपुग्यो । त्यो बाटो छिटो भन्दा छिटो कालोपत्रे र सुधार गरियोस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक बनाउने गरेको प्रतिबद्धता जाँडै पूरा होस् ।