थाहा नगरपालिकाको १२ वटै वडामा भेडा बाख्राहरुका लागि पिपिआर रोग विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । पशुसेवा कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा खोप अभियान सञ्चालन गरिएको हो । पालिकाको पशु विकास शाखाको व्यवस्थापन सबै वडाका टोलटोल र गोठमै पुगेर भेडा बाख्रालाई खोप लगाउने कार्य भैरहेको छ । शाखा प्रमुख डाक्टर निकास भोलनका अनुसार–‘थाहानगरका १२ वटै वडामा खोप लगाउनका लागि ६ जना प्राविधिक खटिएका छन् ।’ भेडा बाख्राको हैजा रोगको रुपमा परिचित पिपीआर रोग विरुद्धको खोप थाहामा १६ फागुनबाट २२ फागुनसम्म लगाउने योजना रहेको डाक्टर भोलनले बताए ।

 

थाहानगरमा ४ दिनमा ८ हजार ३ सय बाख्रालाई खोप लगाइएको छ । सबैभन्दा बढि वडा नम्बर ६ मा दुई हजार वटा बाख्रामा खोप लगाइएको हो । हाल ६ जना प्राविधिकले ६ वटा वडामा खोप लगाइरहेकोमा बाँकी ६ वटा वडा १, ३, ४, ९, १० र ११ मा खोप लगाउन शुरु गरिएको छैन । तय गरिएको अवधिमा खोप लगाउन नभ्याएका वडाहरुमा समय थप गरेर भएपनि खोप लगाइने थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए । उनले भने–‘थाहाका ६ वटा वडामा खोप शुन्य देखिएको कारण ६ जना प्राविधिकले ६ वटा वडामा लगाइरहेकोले हो, अरु वडामा २० फागुनबाटै लगाउन शुरु हुनेछ ।’ उनी थप्छन्–‘किसानहरुले मेरो बाख्रा खोपबाट वञ्चित भए भन्ने नठान्नुहोला सबैलाई खोप लगाउँछौं ।”

पशु प्राविधिक मिश्रका अनुसार वडा नम्बर २ मा १ हजार ९ सय वटा बाख्रालाई पिपीआर विरुद्धको खोप लगाइएको छ । त्यसैगरी वडा नम्बर ५ मा एक हजार ३ सय, ६ मा दुई हजार, ७ मा ८ सय, ८ नम्बर वडामा एक हजार २ सय र वडा नम्बर १२ मा एकहजार १ सय बाख्रालाई खोप लगाइसहिएको छ । भेडालाई पनि खोप लगाइने योजना रहेको भएपनि हालसम्म खोप लगाउँदा भेडा पालन नभेटिएकोे प्राविधिक मिश्रमले जानकारी दिए । थाहा नगरपालिका क्षेत्रका किसानहरुले पालेको भेडा बाख्राका लागि पशुसेवा कार्यालय मकवानपुरबाट १७ हजार खोप प्राप्त भएको छ । गतवर्ष थाहानगरमा २५ हजार लगाइएको पशु विकास शाखाको अभिलेख छ । यसवर्ष ३० हजारमा खोप लगाउने शाखाको लक्ष्य छ ।

थाहा नगरपालिकामा प्रत्येक २ वटा वडामा एकजना प्राविधिक रहने गरी खोप अभियान सञ्चालन गरिएको हो । वडा नम्बर ४ र ५ मा सुन्दर बहादुर दोङ, वडा नम्बर २ र ३ मा बिजमान प्रधान, ११ र १२ मा दिल मोक्तान, १ र ६ मा राजाराम मोक्तान, ९ र १० मा माधवराज अर्याल र वडा नम्बर ७ र ८ मा मोहन बस्नेतले खोप लगाउने काम गरिरहेका छन् । उनीहरुले एउटा भेडा÷बाख्रलाई खोप लगाएको १० रुपियाँका दरले पारिश्रमिक पाउने गर्दछन् । उक्त पारिश्रमिक खोप लगाएको पारिश्रमिक सहित आवश्यक औजारहरु सोत पशु सेवा कार्यालयबाटै उपलब्ध गराइन्छ ।

संघीय सरकारबाट प्रदेश सरकारको कृषि तथा पशुपंछी मन्त्रालयका लागि प्राप्त सशर्त बजेटबाट अभियान सञ्चालन गरिएको हो । खोप अभियानका लागि मकवानपुरका १० स्थानीय तहमा ७० जना खोपकर्ता तोकिएका छन् भने १ सय २० खोप केन्द्रहरु तोकिएको छ । खोप अभियान व्यवस्थित गर्नका लागि मकवानपुरका सबै पालिकाका पशु सेवा शाखा प्रमुखहरुसंग हेटौंडामा अन्तरक्रिया गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी