मकवानपुरको घुर घरधुरीको ४४.३१६ प्रतिशत घर परिवारकोे घरभित्रै धारा रहेको छ । त्यसैगरी ३८.११० प्रतिशत नागरिकको भने घर बाहिर धारा रहेको पाइएको छ । मकवानपुरमा १ लाख ५ हजार ६२० परिवार रहेका छन् । यो तथ्याङ्क हेर्ने हो भने मकवानपुरका ८२.४२६ प्रतिशत घरमा आधारभूत खानेपानीको पहुँच पुगेको मान्न सकिन्छ । देशकै तथ्याङलाई आधार मान्ने हो भने मकवानपुर १२.५७३ प्रतिशतले कमजोर देखिन्छ । नेपालको कुल जनसंख्याको ९५ प्रतिशतले आधारभूत खानेपानीको पहुँच पुगेको सरकारको तथ्याङ्क छ ।
आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल खानेपानी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई गुणस्तरीय खानेपानी मानिएको छ भने कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पु¥याई पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिएको छ । १५ औँ पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) मा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी र ४० प्रतिशत नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । जुन पूरा हुन सकेको छैन । १५ औँ पञ्चवर्षीय योजना चालु आर्थिक वर्ष (२०८०/८१) मा सकिँदै छ । यो तथ्याङ्क अनुसार बागमती प्रदेश राजधानी समेत रहेको मकवानपुर जिल्ला निकै पछाडी रहेको छ ।
तथ्याङ्क अनुसार मकवानपुरका १७.५७३ प्रतिशत घरधुरीले धारा बाहेकको पानी खाने गरेका छन् । यो तथ्याङ्क अनुसार सबैभन्दा बढि बागमती गाउँपालिकाको ३८.४२१ प्रतिशत रहेको छ भने सबैभन्दा कम भीमफेदीको २.८३२ प्रतिशत छ । जिल्लाकै एक मात्र उपमहानगर हेटौंडाका ११.६४२ प्रतिशत नागरिक धारा बाहेकको पानी पिउन बाध्य छन् । थाहा नगरपालिकाको १४.८४३ प्रतिशत परिवार धाराको पहुँच बाहिर छन् ।
प्रतिक्रिया दिनुहोस्