थाहा नगरपालिका वडा नम्बर ८ मोरियामा रहेको इन्द्रायणी माविले विद्यार्थी विद्यालयमा अध्ययन गरे वापत कुनैपनि किसिमको चन्दा रकम नलिने निर्णय गरेको छ । नव निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम कुमार थिङको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

शैक्षिक सत्र २०८१ बाट विद्यालयले लिँदै आएको सबै किकिसमको चन्दा नलिने निर्णय भएको प्रधानाध्यापक नारायण बहादुर कार्कीले जानकारी दिए । ‘विद्यालय शिक्षा निःशुल्क भनेपनि विभिन्न शीर्षकमा चन्दाका रुपमा रकम असुल्ने गरेको छ, हामीले त्यो पनि पूर्णतः नलिने भयौं’–अध्यक्ष थिङले भने । अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणालाई समेत विद्यालयको निर्णयले सहयोग पुग्ने उनको भनाइ छ । कानूनतः विद्यालय शिक्षा निःशुल्क घोषणा गरेपनि सामुदायिक विद्यालयहरुले परीक्षा शुल्क, अतिरिक्त कक्षा शुल्कलगायतको शीर्षकमा शुल्क लिँदै आएका छन् ।

विद्यालयको भैपरी आउने खर्च तथा प्रशासनिक खर्चहरुमा वडा कार्यालयले खर्च गर्ने प्रधानाध्यापक कार्कीले जानकारी दिए । त्यसोतः विद्यालयहरुमा पालिकाका शिक्षा शाखाबाट पनि प्रशासनिक खर्च पठाउने गरिएको छ ।

पालिका प्रेस
थप जानकारी