बज्रवाराही स्वास्थ्य चौकी न्युनतम सेवा मापदण्ड (एमएसएस) मापनमा थाहानगरको सर्वोत्कृष्ट तथा मकवानपुर जिल्लामै उत्कृष्ट भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले १७ र १८ असारमा आयोजना गरेको वार्षिक समिक्षा तथा अन्य सूचकको मुल्याङ्कनसहित थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ट घोषणासहित सम्मान गरेको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरकाका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले बज्रवाराही स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राजनभक्त श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी तथा स्वास्थ्य संस्था प्रमुख जिनु डंगोललाई सम्मान पत्र हस्तान्तरण गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ को मूल्याङ्कनसहित स्वास्थ्य चौकीलाई सम्मान गरिएको जनस्वास्थ्य प्रशासक मिजारले बताए । उनले थाहाबाट अन्य पालिकाहरुले पनि धेरै कुरा सिक्नूपर्ने उल्लेख गर्दै बज्रवाराही स्वास्थ्य चौकीलाई उत्कृष्ट बनाउन सहयोग गर्ने जनप्रतिनीधि तथा कर्मचारीहरुलाई बधाई दिए ।

यसैबीच स्वास्थ्य कार्यालय मकवानपुरले थाहा बाहेक अन्य ९ वटा पालिकाका १/१ वटा स्वास्थ्य संस्थालाई पनि सम्मान गरेञको छ । पालिकास्तरमा राम्रो काम गरेका स्वास्थ्य संस्थाहरुलाई कार्यालयले सम्मान गरेको हो । स्वास्थ्य कार्यालय मकवानपुरको मूल्याङ्कनमा गत आर्थिक वर्ष २०७९/०८० मा पनि थाहा नगरपालिकाको बज्रवाराही स्वास्थ्य चौकी मकवानपुरमा उत्कृष्ट भएको थियो ।

स्वास्थ्य कार्यालय मकवानपुरले न्युनतम सेवा मापदण्ड (एमएसएस) मापन अन्तर्गत सुशासन व्यवस्थापन, सेवा व्यवस्थापन र स्वास्थ्य संस्था सहयोग व्यवस्थापन गरी तीन खण्डका विभिन्न सूचकमा आधारित भएर स्वास्थ्य संस्थाहरुको वार्षिक रुपमा मूल्याङ्कन गर्ने गरेको छ ।

 

पालिका प्रेस
थप जानकारी