चन्द्र शमशेर राणाको पालामा निर्माण भएको कलात्मक पौवा अर्थात पाटी पुर्ननिर्माण पश्चात् ‘चिटिक्क’ भएको छ । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङमा रहेको करिब ५० हात लम्बाइ भएको पौवा पुर्ननिर्माण गरिएको हो । वि.सं. २०७२ सालको भूकम्पले चिरा, चिरा बनाएको उक्त पौवाको पुरातत्व विभागले करिब ३ करोड रुपैयाँ खर्च गरेर जीर्णोद्धार गरेको हो ।
जीआर कन्स्ट्रक्सन निर्माण कार्य गर्नुअघि क्षमापूजा गरेर जीर्णोद्धारको कार्य प्रारम्भ गरेको थियो । तीनवटा गजुर भएको शिवालय पनि पाटी नजिकमै भएको र पाटीभित्र नाग र मुसा रहेकाले क्षमा पूजा गरेर काम सुरु गरेको निर्माण व्यवसायी धर्म महर्जनले बताए । यसअघि संरक्षणको अभावमा उक्त पाटीका चारै सुर भत्किनुको साथै सर्प र मुसाको घर बनेको थियो । केही वर्ष उक्त पाटीमा प्रहरी बसेर गाउँको सुरक्षा पनि गरेका थिए ।
त्रिभुवन राजपथ निर्माण हुनुअघि हेटौंडाको चौकीटोलदेखि भैंसे, भीमफेदी, चित्लाङ र चन्द्रागिरीमा दर्जनौँ पाटी र पौवा निर्माण गरिएका थिए । बटुवालाई बास बस्न र आराम गर्नका लागि ती पाटी र पौवा बनाइएका थिए । त्रिभुवन राजपथ बन्नुअघि हेटौंडाको चौकीटोल, भैंसे, भीमफेदी, चित्लाङ र चन्द्रागिरीहुँदै काठमाडौं उपत्यका आवतजावत गर्ने गर्थे । उपत्यका प्रवेश र हेटौंडालगायत तराई क्षेत्र एवं भारततर्फ जाने मुख्य नाका यही थियो । उपत्यकाबाट बाहिरिने र भित्रिने बटुवा २४ सै घण्टा हिँड्थे । राजपथ निर्माण भएपछि पैदल हिँडेर उपत्यका आवतजावत गर्ने प्रचलन पनि हरायो र पाटी पौवाको संरक्षणको अभावले नासिएर गए ।
हेटौंडाको चौकीटोलदेखि चन्द्रागिरीसम्ममा रहेका करिब ३ दर्जनभन्दा बढी पौवा रहेका थिए । अधिकांश पाटी पौवा संरक्षणको अभावले भत्किइसक्यो तर चित्लाङको पौवा पुरानै अवस्थामा पुनर्निर्माण गरिएको स्थानीयवासी बुद्धरत्न मानन्धरले बताए । ‘यो पौवा अहिले त्यतिबेलाको बटुवा आवतजावत गर्ने जिउँदो इतिहासको साक्षी बन्न पुगेको छ,’ मानन्धरले भने ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्