विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ मृत्युदर र शिशु मृत्युदरमा सुधार आएको छ । स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउनेको संख्या बढेका कारण मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले भत्तालगायत सुविधा दिनु, पछिल्लो समय बाटोघाटो बनेर यातायातको सहजता हुनु र स्वास्थ्य संस्थाप्रति विश्वास बढ्नुजस्ता कारणले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउने दर बढ्दै गएको हो । घरमा सुत्केरी गराउँदा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेकाले पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेको सङ्ख्या पछिल्ला वर्षमा बढेको उहाँको भनाइ छ । उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा मकवानपुरमा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन ।

आव २०८०÷८१ मा ६६ प्रतिशत गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आव २०७९÷८० मा ७६ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी गराएको थियो । मकवानपुरबाहेक काठमाडौँ, ललितपुर र भक्तपुरलगायत जिल्लाका स्वास्थ्य संस्थामा पुगेर पनि सुत्केरी गराउने गरेकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष संख्या केही कम देखिएको प्रमुख मिजारले जानकारी दिए ।

यस्तै स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने गर्भवतीको संख्या पनि विगत वर्षको तुलनामा बढेको छ । गर्भजाँच कम्तीमा आठपटक गराउनुपर्ने हुन्छ । गर्भको नियमित जाँच गराउने गर्भवतीको संख्या आव २०७९÷८० मा ३० प्रतिशत रहेकामा आव २०८०÷८१ मा बढेर ४८ प्रतिशत पुगेको उनले बताए । स्वास्थ्य संस्थामा गएर पहिलोपटक गर्भवती जाँच गराउनेको संख्या शतप्रतिशत रहे पनि नियमित चारपटकसम्म स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलाको संख्या ५६ प्रतिशतमात्र रहेको बताए । मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास हुँदै गएका कारण स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने र सुत्केरी हुनेको सङ्ख्या बढेका कारण मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आएको उनले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी