अन्य वर्षहरुमा जस्तो यस वर्षको फुलपातीको दिन पालुङको दशै घरमा भिडभाड देखिएन । मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ मा रहेको दशै घर (कोत घर) मा यसै वर्ष परापूर्व कालदेखिको चलेको चलन पनि तोडिएको छ । अर्थात् दशै घरमा घटस्थापनाको दिन जमरा राखिएन, फुलपाती पनि भित्र्याइएन ।

थाहा नगरपालिकाको २ नम्बर वडा कार्यालय छेवैमा रहेको दशै घर जीर्ण भएको छ । वि.सं. २०७२ सालको भुकम्पले एक पाखो भत्किएको छ । बाँकी रहेको घरको आधा भागको पनि चुली खसेको छ । भवन जीर्ण भएपछि यस वर्ष जमरा पनि दशै घरमा राखिएको छैन । दशै घरमा पुजा चलाउनै नसकिने गरी जोखिम भएपछि २ नम्बर वडा कार्यालयमै जमरा राखिएको छ, फुलपाती पनि वडा कार्यालयमै भित्र्याइएको छ । २४ असोजमा परेको फुलपातीका दिन फुलपाती भित्र्याउँदा दशै घर सुनसान देखिन्थ्यो भने, वडा कार्यालय खँचाखँच थियो ।

पालुङको दशै घर ।

मकवानपुरको आग्राबाट फुलपाती ल्याएर २४ असोजमा वडा कार्यालयमा भित्र्याइएको छ । दशै घर जीर्ण भएकोले वडा कार्यालयमै फुलपाती भित्र्यायएको इन्द्रायणी कालाभैरव गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले जानकारी दिए । ‘आग्राको चल्तीबाट ल्याएको फुलपाती परम्परा अनुसार दशै घरमा भित्र्याउने परम्परा हो’, अध्यक्ष श्रेष्ठले भने–‘भवन जीर्ण छ, त्यसैले वडा कार्यालयमा भित्र्यायौं।’

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको विशेष उपस्थितीमा अन्य जनप्रतिनीधि तथा अतिथीहरुको उपस्थितीमा भएको फुलपाती भित्र्याउने कार्यक्रममा इलाका प्रहरी कार्यालय पालुङले शुभ साइतमा बढाई समेत गरेको थियो । आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फुलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फुलपाती चौरसम्म बाजागाजा सहित ल्याउने परम्परा छ । डोलीमा राखेर हर्षोल्लासका साथ ल्याइने फलुपातीले थाहानगरमा दशैं आएको संकेत गर्दछ । दशैमा मात्र प्रयोगमा आउने पालुङको खोला किनारामा रहेको उक्त चौरलाई सबैले फुलपाती चौरको नामले चिन्छन् ।

२ नम्बर वडा कार्यालय ।

फुलपाती चौरमा ल्याइएको फुलपातीलाई पुजाविधि अनुसार शुभ साइतमा बली सहित बढाई गरेपछि फुलपाती भित्र्याउने पुरानो चलन हो । शुभ साइतको बढाईको कार्यक्रमलाई इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविन बाबु अर्यालले संयोजन गरेका थिए । परापूर्व कालदेखिदेखि नै संचालन हुँदै आएको परम्परा तत्कालिन प्रधानपञ्चको नेतृत्वमा हुँदै आएको भए पनि थाहा नगरपालिकाले सहयोग गर्दै आएको छ ।

२ नम्बर वडा कार्यालय ।

पालुङ स्थित दशै घरमा फुलपाती भित्र्याएपछि मात्र घर–घरमा लगि भित्र्याउने परम्परा छ । यसपालि भने वडा कार्यालयमा भित्र्याएपछि सो फुलपाती स्थानीय गुठीहरु, स्थानीय सरकारका प्रमुखलगायत स्थानीयहरुले भित्र्याएका छन् । कार्यक्रममा थाहानगर प्रमुख विष्णु बहादुर विष्ट, २ नम्बर वडाध्यक्ष बम बहादुर सिन्तान, वडा सदस्यहरु, पूर्व वडाध्यक्ष गुप्त बहादुर कार्की लगायत स्थानीयहरु फुलपाती लिन वडा कार्यालय पुगेका थिए ।

यसैबीच विजया दशमीको दिन स्थानीय सरकार प्रमुखले आम नागरिकहरुलाई टिका लगाइदिने प्रचलन पनि पालुङमा रहेको छ । दशै घर भत्किएपछि उक्त परम्परा पनि वडा कार्यालयबाटै गरिने बताइएको छ ।

पालिका प्रेस
थप जानकारी