मकवानपुरको थाहा नगरपालिका– १० का चार नेवारी बस्तीमा ५ कार्तिकमा बडा दसैंको टीका लगाइएको छ । थाहा नगरपालिकाको अम्बे जात्रा (चम्पाकेश्वर महादेव जात्रा) का कारण चार नेवारी बस्तीका बासिन्दाले ५ कार्तिकमा मात्रै दसैंको टीका लगाएका हुन् ।
अम्बे जात्राका कारण टौखेल, न्हुँलगाउ, कलाटु र विसिंखेलका नेवारी समुदायले असोज २६ मा दसैं मनाएका थिएनन् । नेवारी समुदायले कुनै पनि जात्रा र पर्व मनाउनु ८ दिनअघि ‘आँग’ (जाँड) राख्ने चलन अनुसार असोज २३ मा चम्पाकेश्वर महादेवको अम्बे जात्राका लागि ‘आँग’ रखिएपछि दसैं पछि सारिएको हो । कुनै पनि जात्राका लागि ‘आँग’ राखिसकेपछि अन्य देवीदेवताको पूजा गर्न नहुने नेवारी परम्पराका कारण दसैंको दुर्गा पूजा पछि सारिएको स्थानीय कुलचन्द्र अर्यालले बताए । यी चार गाउँमा गमाल र गोपाली समुदायको बसोबास रहेको छ ।
कार्तिक संक्रान्तिदेखि वरको छैटौं दिन महानवमी परेकाले दसैं पछि सारिएको अर्का स्थानीय अक्षय गोपालीले बताए । ‘आठ दिनअघि गोपाली समुदायको परम्परागत जात्राका लागि ‘आँग’ अर्थात् प्रसादका लागि जाँड राख्ने दिन हो । कार्तिक संक्रान्तिको आठ दिनअघि महानवमी नपरेको भए दसैं मान्थ्यौं,’ जात्राका गुरु श्यामबहादुर गोपालीले भने, ‘जात्रा सकेपछि (५ कार्तिकमा) टीका लगाइरहेका हौं ।’
गोपाली समुदायको बसोबास रहेको न्हुँलगाउ र टौखेल तथा गमालको बसोबास रहेको कलाँटु र तल्लो बिसिङ्खेलबासीले दसै सारेको चम्पाकेश्वर क्षेत्र विकास समितिका सचिव कर्ण गोपालीले जानकारी दिए । कार्तिक संक्रान्तिका दिन गोपाली समुदायका गुठियारहरूले ‘आँग’ ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजी’ अर्थात् एक पटक मात्र कुटेको चिउरा प्रसादका रूपमा खाने गरिन्छ । उक्त प्रसाद खाएमा पेटको रोग निर्मूल हुने जनविश्वास छ ।
अम्बे जात्रा सूर्यमासका आधारमा प्रत्येक वर्षको कार्तिक १ गते मनाइन्छ । दसैं चन्द्रमास अनुसार आश्विन शुक्ल पक्षमा मनाइन्छ । चन्द्रमास अनुसार मलमास र क्षयमास परेको आसपासका वर्षमा यस्तो हुन जान्छ । यस वर्ष पनि दसैंको टीका चम्पाकेश्वर महादेवको अम्बे जात्राको ‘आँग’ राखिसकेपछि परेका कारण दसैं पछि मनाइएको हो ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्