मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ गोपाली गाउँका ज्ञान बहादुर गोपाली गाउँका थकाली हुन् । ८० वर्षिया गोपाली गाउँ माझमा रहको मछिन्द्र पाटी (फल्चा) पुर्ननिर्माण भएपछि खुशी छन् । मछिन्द्र फल्चा गाउँका ज्येष्ठ नागरिकहरुको घाम ताप्ने र गफ गरेर बस्ने स्थायी थलो पनि हो । त्यसोत गोपालीहरु कार्तिके भजन पनि यहि फल्चामा गाउँछन् । आफू सानै हुँदा छ्वालीले छाएको फल्चा पछि ढुङ्गाले छाएको बताउँदै ज्ञान बहादुर भन्छन्–‘अहिले पुरै फल्चा पुर्ननिर्माण भएको छ, कति राम्रो काम ।’
तत्कालीन शिखरकोट गाउँ पंचायत वडा नम्बर ३ का डाँडाघरे कार्कीहरुले उक्त फल्चामा छ्वालीको छानो छाएको ज्ञान बहादुरलाई अझै हेक्का छ । आफू जन्मदै मछिन्द्र पाटी खडा भैसकेको सुनाउँदै गोपाली भन्छन्–‘म त २००१ सालमा जन्मेको मलाई बाजेले सुनाउनु हुन्थ्यो, पाटी म जन्मुनु अघि नै बनिसक्या थियो ।’ आफू जन्मेपछि मछिन्द्रपाटी निकै बदलिएको ज्ञान बहादुरको भनाइ छ ।

‘छुवालीले छाएको फल्चा गोपाली गाउँलेले घरलौरी एक एक भारी दाउरा दिएर छ्वालीको छनो उतारेर टायल लगाएका हौ ।’ वि.सं. २०१० सालमा हिटी साहिला ग्वाले राइटर बाजेले पाटीमै मछिन्द्रनाथको मन्दिर बनाउन लगाएको ज्ञान बहादुरले बताए । ग्वाले राइटर बाजे भनेर चिनिने शेर बहादुर गोपालीले ऋषेश्वर महादेव मन्दिरको गुम्बामा बस्ने बुद्धि राम साकाःभिक्षुको आदेश अनुसार मन्दिर बनाएका हुन् । साका भिक्षु र हिटी साहिलाको दाजुभाइ र राइटर बाजेको समेत सहयोगमा बनाइएको मन्दिर अहिले पुर्ननिर्माण गरिएको फल्चामा चिटिक्क पारेर राखिएको छ ।

पुरानो मछिन्द्र फल्चा । फोटोः पालिका प्रेस
ज्ञान बहादुरका अनुसार–हिटि साहिलाको घरमा भएको मछिन्द्रको मुर्तिलाई फल्चामा प्रतिस्थापन गरेका हुने । गाउँका सबैले विशेष पुजाआजा र रातभर जाग्राम बसी भोलिपल्ट रथारोहण सहित गाउँ परिक्रमा गराइ वि.सं. २०१० सालमा फल्चामा प्रतिस्थापन गरिएको ज्ञान बहादुरको भनाइ छ ।
वि.सं. २०७२ सालको भुकम्पले पाटी (फल्चा)मा क्षति पुर्याएपछी सामाजिक विकास मन्त्रालय बागमती प्रदेश अन्तर्गत पर्यटन विकासको योजनाको ८ लाखको बजेटबाट फल्चा पुर्ननिर्माण भएको हो । प्र्रदेश सांसद कुमारी मोक्तानको पहलकै कारण फल्चा पुर्ननिर्माण गर्न सफल भएको निर्माण समितिकी अध्यक्ष शकुन्तला गोपालीले बताइन् । फल्चा पुर्ननिर्माणका लागि प्रदेश सरकारको ८ लाख स्थानीयको जनश्रमदान एक लाख र थाहा नगरपालिका वडा नम्बर ३ बाट ५ लाख बजेट लगानी भएको अध्यक्ष गोपालीको भनाइ छ । अध्यक्ष गोपालीका अनुसार–‘प्रदेश सरकारले दिएको बजेटबाट पाटीको काम सकियो अब वडाको बजेटबाट पाटी अगाडिको चौताराको काम बाँकी छ, छिट्टै सो चौतारोको पनि पुनर्निर्माण हुन्छ।’















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्