बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति र संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बीच ६ मंसिरमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको छ।

कार्यक्रममा दुबै सदनका बिषयगत समितिका कामहरू र समन्वयको महत्त्वको विषयमा छलफल भएको छ। कार्यक्रममा बोल्दै संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले वर्तमान समयमा जनतामा देखिएको निराशालाई चिर्न राजनीति नेतृत्वहरुले आशा जगाउने गरि काम गर्नुपर्ने बताए । उनले प्रतिनिधि सभा र प्रदेश सभाको विषयगत समितिहरुबिच अन्तरकृया तथा अनुभव आदानप्रदान गर्नाले दुबै समितिहरुबिच सुमधुर सम्बन्ध कायम हुने बताए । यस्तै कार्यक्रममा बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले संघिय संसदले आवश्यक कानुनहरु समयमै नबनाउदा प्रदेश सरकारले बनाएका ऐन कार्यान्वयनमा समस्या पैदा भएको बताए ।

कार्यक्रममा संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरु कान्तिका सेजुवाल, रुक्मणी राना बराईली, हेमराज राई, बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सदस्यहरु ठुला थामि, तारा नारायण श्रेष्ठ र भुवन केसरी श्रेष्ठले कार्यक्रममा आफ्ना धारणाहरु व्यक्त गरेका थिए । समान उद्देश्यका साथ दुबै समितिहरूले समन्वय गर्नुपर्ने आवश्यकता र सम्बन्धित मुद्दाहरूको समाधानका लागि थप प्रयास गर्नुपर्ने कुरामा जोड दिएका छन्। सो क्रममा, प्रदेशका उद्योग र पर्यटन क्षेत्रमा थप अवसर सिर्जना गर्ने, वातावरण संरक्षणको क्षेत्रमा सहकार्यको महत्व र श्रम तथा उपभोक्ता हितका क्षेत्रमा साझा योजनाहरूमा काम गर्ने सन्देश प्रकट भएको छ।

सम्भावित आगामी योजनाहरूमा विशेष ध्यान दिँदै, दुबै समितिहरूले प्रदेश र संघीय सरकारको बीचमा सम्पर्क सञ्जाललाई थप सशक्त बनाउनुपर्ने आवश्यकता उल्लेख गरे । कार्यक्रममा बागमती प्रदेश सभाका सचिव कृष्ण हरि खड्का, संघिय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सचिव रामकुमार पौडेल, बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सचीव राजु श्रेष्ठ, लगाएत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी