मकवानपुर जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। गैरसरकारी संस्था महासंघ मकवानपुरको आयोजना, जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वय तथा राडो नेपालको सहकार्यमा हेटौँडा–२ वनस्खण्डीस्थित महासंघको सभाहलमा सोमबार कार्यक्रम सम्पन्न भएको हो।

महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान प्रमुख अतिथि, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा गैसस महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, निवर्तमान अध्यक्ष डा. कृष्ण धिताल, हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनालगायत विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो।

कार्यक्रममा ३० वटा गैरसरकारी संस्थाले आर्थिक वर्षभरि गरेका गतिविधि तथा उपलब्धिको समीक्षा प्रस्तुत गरेका थिए। प्रमुख अतिथि ललित घलानले पछिल्लो समय गैरसरकारी संस्थाको काम बजेट अभावका कारण खुम्चिँदै गएको हो कि भन्ने प्रश्न उठाउँदै समाज रूपान्तरणमा गैससको भूमिका अझै महत्त्वपूर्ण रहेको बताए। उनले नीति, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै स्थानीय तहसँग सहकार्य बढाउन आग्रह गरे। राज्यलाई सहयोग गर्ने संस्थालाई राज्यले पनि सहयोगीका रूपमा हेर्नुपर्ने धारणा राख्दै उनले जनप्रतिनिधि र गैरसरकारी संस्थाबीच समन्वय अझ सुदृढ हुनुपर्ने बताए।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले समीक्षा प्रस्तुत गरेका ३० संस्थाका प्रतिवेदनलाई प्रशासनले गम्भीर रूपमा अध्ययन गरी आवश्यक अनुगमन गर्ने जानकारी दिए। उनले जिल्ला प्रशासन कार्यालयमा हालसम्म २ हजार २ सय ५० गैरसरकारी संस्था दर्ता भए पनि हाल करिब ३२० संस्थामात्र नवीकरण भएको तथ्याङ्क सार्वजनिक गरे।

उनले गैरसरकारी संस्था सरकारका प्रतिस्पर्धी नभई विकासका साझेदार भएको उल्लेख गर्दै संस्था दर्ता गर्नुअघि स्रोत, उद्देश्य र दीर्घकालीन योजनाबारे स्पष्ट हुनुपर्ने बताए। साथै अधिकांश संस्था सहर केन्द्रित रहेको र जिल्लाका १०२ वडामध्ये धेरै ग्रामीण क्षेत्रमा संस्थाको पहुँच कमजोर रहेको भन्दै सेवा गाउँसम्म विस्तार गर्न आग्रह गरे। वार्षिक प्रतिवेदन नियमित बुझाउने र संस्थागत उत्तरदायित्व बढाउन पनि उनले जोड दिए।

पालिका प्रेस
थप जानकारी