२०७२ सालको भूकम्पका कारण भत्काउनुपर्ने सूचिमा रहेको भवनमा बागमती प्रदेश सरकारले दुईवटा मन्त्रालय राखेको छ । तत्कालीन समयमा उक्त भवन भत्काउनुपर्ने सूचीमा परेपछि रातो स्टिकर टाँसिएको थियो । हेटौंडा–२ स्थित मुख्यमन्त्री कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा प्रदेशको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र सहकारी तथा गरिवी निवारण मन्त्रालय राखिएको हो ।
बागमती प्रदेशमा अघिल्लो बर्ष मन्त्रालय विभाजन गरी बनाइएको उद्योग मन्त्रालय गतबर्ष देखि नै यसै भवनमा रहँदै आएकोमा गत कार्तिक २७ मा विभाजन गरी बनाइएको सहकारी तथा गरिवी निवारण मन्त्रालय पनि ७ मंसिरदेखि यसै भवनमा स्थापना गरिएको हो ।
बागमतीमा मन्त्रालयको संख्या बढेपछि घर भाडाकोे खर्च जोगाउने भन्दै तत्कालिन उद्योग मन्त्री रामकृष्ण चित्रकारले खाली रहेको उक्त भवन मर्मत गरेर मन्त्रालय सारेका थिए। यो सँगै भर्खरै थपिएको सहकारी मन्त्रालय पनि भाडाको घरमा नबस्ने भन्दै मन्त्री मदुकुमार श्रेष्ठले पूरानै भएपनि सरकारी भवनमा नै बस्ने निर्णय गरिएको बताए ।
यसरी सरकारी भवनको अभावका कारण एउटै जीर्ण भवनमा दुईवटा मन्त्रालय राखेर काम गरिदै आएको हो। भवन मर्मत गर्दै बस्ने उदेश्यले यसै भवनबाट मन्त्रालय सुरु गरिएको मन्त्री श्रेष्ठले बताए । भूकम्पका कारण जोखिमपूर्ण मुल्यांकन गरेर रातो स्टिकर टाँसिएको भवनमा प्रदेश सरकार आफै बस्नु कत्तिको सुरक्षित ? यो प्रश्नमा मन्त्री श्रेष्ठले भने, ‘अहिलेसम्म बस्न मिल्ने नै छ। हेर्दा जोखिम होला जस्तो देखिदैन। राज्यकोषको रकम घरभाडामा खर्च नगरौं भन्ने उदेश्य हो। नत्र त राम्रो घर खोजेर पनि बस्न सकिन्थ्यो।’
बागमतीमा थपिएको एक मन्त्रालय सहित मन्त्रालयको कुल संख्या १४ पुगेको छ । त्यसमध्ये संस्कृति तथा पर्यटन मन्त्रालय हालपनि भाडाकै घरमा छ भने मन्त्रालय मातहतका प्रायः सबै कार्यालयहरु समेत भाडाकै घरबाट सञ्चालनमा छन्। यति मात्रै होइन, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पनि जीर्ण भवनबाटै सञ्चालनमा आइरहेको छ। हालसम्म ५ जना मुख्यमन्त्री पाइसकेको बागमतीमा प्रदेश सरकारको स्थायी संरचना निर्माणको काम भने अघि बढ्न सकेको छैन । मुख्यमन्त्री कार्यालय समेत तत्कालिन जिल्ला विकास समितिको जीर्ण भवनमै छ ।
प्रदेश सरकारको आफ्नै संरचना नहुँदा प्रायः मन्त्रीहरु भाडाको घरमा बस्दैआएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामा जिल्ला वन कार्यालय मकवानपुरको कार्यालयका लागि निर्माण भएको भवनलाई आवासको रुपमा प्रयोग गर्दै आएका छन् । यसअघि पूर्व मुख्यमन्त्री शालिकराम जम्मकट्टेल पनि सोही भवनमा बस्दै आएका थिए । त्यसबाहेक केही मन्त्रीहरु हेटौंडा सिमेन्टको आवासीय भवनमा बस्दै आएका छन् भने केही भाडाकै घरमा बस्दै आएका छन् ।
पालिका डायरीबाट
प्रतिक्रिया दिनुहोस्