जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बालमैत्री घोषणाको तयारीमा रहेको थाहा नगरपालिकाको दुई वटा वडाको अनुगमन गरेको छ । जिसस मकवानपुरका प्रमुख ललित घलानको नेतृत्वको टोलीले २९ असारमा वडा नम्बर १ र ३ मा बालमैत्री क्षेत्र घोषणाका सुचकहरु कार्यान्वयन भए, नभएको विषयमा अनुगमन गरेको हो ।
थाहा नगरपालिकाले ति दुई वडाका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतमा बालमैत्री शासन अबलम्बन भए, नभएको विषयमा अनुगमन गरेर २९ असारमा अन्तिम वडामा अनुगमन गरिएको हो । बालमैत्री स्थानीय शासन अवलम्बनयुक्त वडाको रुपमा घोषणाको अन्तिम तयारी गरेको थाहा नगरपालिकाले बालमैत्रीका विभिन्न ५३ सुचकमा काम सम्पन्न गरेर वडा नम्बर १ र ३ लाई घोषणा गर्ने तयारी गरेको हो ।
अनुगमनका क्रममा जिसस प्रमुख घलानले दुई वटा वडाले बालमैत्री स्थानीय तह घोषणाका लागि निकै मिहिनेत गरेकाले र घोषणाको योग्य समेत भएको बताए । उनले बालमैत्रीका सुचकहरु पूरा गर्न थाहाले गरेको मिहिनेतको प्रशंसा गर्नुहुँदै सुचकहरुका क्षेत्रमा दीर्घकालिन सोच समेत बनाएर अगाडि बढ्न निर्देशन दिए । सो क्रममा जिसस उपप्रमुख सानुकाजी लुइटेलले थाहाको वडा नम्बर १ र ३ लाई बालमैत्री घोषणा गर्दै त्यसको निरन्तरताका लागि दीर्घकालिन योजनाका साथ काम गर्न सुझाव दिए । अनुगमन पश्चात् जिल्ला समन्वयको तत्कालै बस्ने बैठकमा प्रमाणिकरणको प्रस्ताव राख्ने कार्यसूची सुनाए ।

बालमैत्री घोषणाका लागि थाहाले विभिन्न चरणका गतिविधिहरु सञ्चालन गरी संस्थागत सहित ५१ र स्थानीय करण गरिएका २ सूचक गरी ५३ वटा सूचक पूरा गरेको नगरपालिकाका बालमैत्री फोकल पर्सन अनिल लामिछानेले बताए । खासगरी थाहामा बालमैत्री अभियान पश्चात् विकराल समस्याको रुपमा रहँदै आएको बालविवाह र प्रसुति सेवाका क्षेत्रमा उल्लेख्य सुधार भएको बताए । उनले बालश्रम उन्मूलन, बालविवाह, बालमैत्री शासन, बाल अधिकारलगायत क्षेत्रमा काम भएको बताउँदै बालमैत्री शासन घोषणाका लागि नगरले बालअधिकार समिति, बाल क्लब, शिक्षक, विद्यार्थी, टोल विकास संस्थालगायतसँग समन्वय गरी काम गरेको जानकारी दिए । अनुगमन पछि भएको छलफलमा वडाभित्र बालमैत्री वडाको सुचक प्राप्तीको तयारीको चरण, पूर्व तयारीको चरण, नीति तथा योजना तर्जुमा र कार्यन्वयनको चरण, अनुगमन मूल्याङन र प्रतिवेदन चरण तथा बालमैत्री स्थानिय तह घोषणा र दिगोपनाका चरण पुरा गरेको बताए ।
थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीले सार्वजनिक निकायहरुको अनुगमन, भौतिक संरचनामा बालमैत्री व्यवस्था, बाल सहभागिता, बाल संरक्षण, बाल बचाउ र बाल विकासको सारतत्वलाई अवलम्बन गर्न प्रेरित गरिएको जानकारी दिए ।

अनुगमन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदिप गिरी, थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक सविन बाबु अर्याल, नेपाल पत्रकार महासंघ मकवानपुरकाका उपाध्यक्ष ध्रुव अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधि प्रदिप अर्याल, जिल्ला समन्वय समिती मकवानपुरका सदस्य सुवर्ण गोपाली, तारा ढुंगाना लगायतकाको सहभागिता रहेको थियो ।
थाहानगरको १ नम्बर वडामा भएको छलफल कार्यक्रम वडा नम्बर १ मा कार्यवाहक अध्यक्ष सरोज प्रधान र ३ मा वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको अध्यक्षतामा भएको थियो ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्