मकवानपुर थाहा नगरपालिकाको फाँट बजारमा जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान थाहा नगरपालिका वडा नम्बर २ को आयोजनामा आठौं संस्करणको प्रतियोगितासुरु भएको हो। प्रतियोगिताको थाहा–२ का अध्यक्ष बम बहादुर सिन्तानले उद्घाटन गरे ।

प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बम बहादुर सिन्तानले कुनै पनि खेलहरुको आयोजनाले नगरको प्रवर्धनमा सहयोग पुग्नुका साथै राम्रा राम्रा खेलाडी पहिचान हुने बताउँदै वडा नम्बर २ यस्ता कार्यक्रम गर्नका लागि सदैव सहयोग गर्न तयार रहेको बताए । कार्यक्रम आयोजना निरन्तरताको लागि संस्थाले अक्षयकोषको व्यवस्था गर्नु पर्ने बताउँदै खेलाडीहरुलाई अनुशासित भई खेल सम्पन्न गर्न अनुरोध गरे ।

कार्यक्रममा बिकेशबाबू बस्नेतले स्वागत मन्तव्य राखेको समारोहमा जनप्रतिनिधिलगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका संरक्षक स्वर्गिय अर्जुन बहादुर कार्की र विनय बाबु बस्नेतको तस्विरमा माल्यार्पण सहित मौन धारण गरिएको थियो । १२ टिमको सहभागिता रहेको यप्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमले नगद २८ हजार ८ सय ८८ रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र तथा तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र सहित बिधागत उत्कृष्ट खेलाडीहरुले नगद सहित मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको छ ।
सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको हो ।

पालिका प्रेस
थप जानकारी