कुकुर तिहार र लक्ष्मीपूजा छुट्टाछुट्टै महत्त्वका पर्व हुन्। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गरिन्छ। औँसीको रातमा दीपावलीसहित धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ। तर लगातार चार वर्षदेखि यी दुवै पर्व एकै दिन मनाइँदै छ।

नेपालमा चाडपर्व निर्णय गर्ने आधिकारिक संस्था नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट मान्यता पाएका पात्रोका अनुसार यो वर्ष कात्तिक ३ गते सोमबार कृष्ण चतुर्दशी छ। २२ घडी ११ पला अर्थात् दिउँसो २ बजेर ५९ मिनेटसम्म चतुर्दशी तिथि छ। त्यसपछि औँसी लाग्छ।

४ गते मंगलबार २५ घडी ५३ पला अर्थात् अपराह्न ४ बजेर २९ मिनेटसम्म औँसी छ। समितिका अनुसार यो दिन तिहारका कुनै पनि पर्व पर्दैन। अर्थात् खाली छ।श्राद्ध गर्न वा औँसी बार्न यही दिन निर्देश गरिएको छ।  गाईको पूजा बुधबार प्रतिपदाका दिन गर्न भनिएको छ। गाई-गोरु र गोवर्धनपूजा बुधबार गर्नुपर्ने उल्लेख छ।

अघिल्लो वर्ष  कात्तिक १५ गते बिहीबार २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि थियो। त्यसपछि औँसी लागेको थियो। १६ गते शुक्रबार २७ घडी ३० पला अर्थात् अपराह्न ५ बजेर १५ मिनेटसम्म औँसी रहे पनि अघिल्लै दिन लक्ष्मीपूजा गरिएको थियो।

२०८० सालको कात्तिक २६ गते १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि थियो। भोलिपल्ट सोमबार २० घडी ४४ पला अर्थात् दिउँसो २ बजे ४१ मिनेटसम्म औँसी थियो। त्यसैले समितिले  अघिल्लै दिन लक्ष्मीपूजा गर्न निर्देश गरेको थियो। औँसी बार्ने दिन सोमबार नै थियो। गाईपूजा सोमबार नै थियो भने गोवर्धनपूजा गोरुपूजा मंगलबार थियो।

यस्तै २०७९ सालमा कात्तिक ७ गते सोमबार २७ घडी १५ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटसम्म चतुर्दशी तिथि थियो। ८ गते मंगलबार २५ घडी ५७ अर्थात् ४ बजेर ३३ मिनेटसम्म औँसी थियो। गाईपूजा मंगलबार नै गर्न निर्देश थियो भने गोवर्धन र गोरुपूजाका लागि ९ गते बुधबार भनिएको थियो।

२०७७ सालमा पनि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको थियो। कात्तिक २९ गते शनिबार चतुर्दशी १८ घडी २९ पला अर्थात् दिउँसो १ बजेर ४९ सम्म चतुर्दशी थियो। त्यसपछि औँ।सी लाग्थ्यो। भोलिपल्ट ३० गते आइतबार १२ घडी ३३ पला अर्थात् ११ बजेर २७ मिनेटसम्म मात्रै औँसी थियो। त्यसैले अघिल्लो दिन नै लक्ष्मीपूजा गरिएको थियो। गाई(गोरुपूजा आइतबार गरिएको थियो। सोमबार गोवर्धनपूजा गरी भाइटीका लगाइएको थियो। त्यो दिन ६ घडी ५३ पला अर्थात् ९ बजेर १२ मिनेटसम्म मात्रै प्रतिपदा तिथि थियो। त्यसपछि द्वितीया लागेको थियो।

कुकुर तिहार र लक्ष्मीपूजा किन एकै दिन पर्छ?

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार लक्ष्मीपूजा विशेषगरी साँझ वा रात्रिमा गर्ने कृत्य हो। औँसीमा सूर्योदय भए पनि साँझ वा बेलुकीसम्म औँसी तिथि नरहँदा अघिल्लो दिन नै लक्ष्मीपूजा गरिएको हो। २०६६, २०७९, २०८० र २०८१ को अवस्था यही हो। ‘यो वर्ष पनि विगतका तीन वर्षामा झैँ चतुर्दशी तिथि सकिएर अपराह्नमै औँसी तिथि शुरु भएको छ’, उनी भन्छन्, ‘भोलिपल्ट पनि साँझसम्म औँसी रहने अवस्था नभएका कारण अघिल्लै रात लक्ष्मीपूजा गर्न निर्देश गरिएको हो।’

पालिका प्रेस
थप जानकारी