मकवानपुरगढी गाउँपालिकास्थित नेपाल तामाङ घेदुङ कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कार्यसमितिले १५ पुसमा पत्रकार सम्मेलन गरी आगामी माघ ३ गते कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो।

कार्यक्रम मकवानपुरगढी गाउँपालिका–१, रानीबासस्थित एग्रो टुरिजम पार्कमा आयोजना हुने समितिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिए । तामाङ समुदायको संस्कृति, कला, भेषभूषा तथा पहिचानको संरक्षण र प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष थिङले बताए । कार्यक्रममा तामाङ सेलोका चर्चित कलाकारहरू गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, विक्रम लुङ्बा लगायतका कलाकारहरूको गायन प्रस्तुति रहनेछ। साथै विविध सांस्कृतिक नृत्य प्रस्तुतिहरू पनि समावेश गरिने कार्यक्रमका कलाकार संयोजक तथा समितिका उपाध्यक्ष विक्रम योञ्जनले जानकारी दिए । यसका अतिरिक्त सांस्कृतिक झाँकी प्रदर्शन, ताम्बा–डम्फुरेको प्रस्तुति तथा लामाद्वारा विधिपूर्वक पूजा समेत गरिने उपाध्यक्ष योञ्जनले बताए ।

कार्यक्रम सञ्चालनका लागि मकवानपुरगढी गाउँपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको र वडा नम्बर १ कार्यालयबाट विशेष सहयोग प्राप्त भएको आर्थिक संयोजक राज स्याङ्तानले जानकारी दिए । आयोजकका अनुसार कार्यक्रम सञ्चालनका लागि करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमस्थलमा गाउँपालिकाको कृषि शाखाद्वारा रैथाने बाली, कोदो, फापर, गहुँलगायतका परिकारहरूको स्टल राखी प्रदर्शन गरिनेछ । पत्रकार सम्मेलनमा वडा नम्बर १ का वडा अध्यक्ष आइत सिंह लो, समितिका सल्लाहकार आकाश गोले, राजकुमार गोले लगायतको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी