मकवानपुर थाहा नगरपालिका शिक्षा शाखाको सहयोग तथा सुनौलो सामुदायिक सिकाइ केन्द्र थाहा १ कुन्छालको आयोजनामा पाँच दिने जीवन प्रबद्र्धनात्मक शिक्षा तालिम सकिएको छ । २६ पुसबाट शुरु भएको तालिम एक समारोहकाबीच ३० पुसमा समापन गरिएको हो ।

सिकाइ केन्द्रका अध्यक्ष रुपचन्द्र गोपालीको सभाध्यक्षता तथा थाहा नगरपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष सरोज प्रधानको प्रमुख आतिथ्ता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सुवर्ण गोपाली, थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल विशेष आतिथ्यता रहेको थियो भने सिकाइ केन्द्रका संस्थापक अध्यक्ष सानुकाजी गोपाली र तालिमका मुख्य प्रशिक्षक जीवन्त शिक्षा अभियानका अभियन्ता राजन बिडारी लगायतको उपस्थिती रहेको थियो ।

थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल, सुनौलो सामुदायिक सिकाइ केन्द्रको सभाहलमा संचालित कार्यक्रममा थाहा नगरपालिकाका विभिन्न ७ वटा माध्यमिक विधालयबाट २६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिम समापनको क्रममा सहभागीहरुलाई सहभागीताको प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा ब्यक्तिको जीवन कसरी प्रबद्र्धन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भइ जीवनको लक्ष निर्धारण, असल जीवनशैली, सही मानवीय ब्यवहार, दैनिक जीवनशैली, योग ध्यान साधनाको महत्व, सही मार्गनिर्देशन, सञ्चार कलालगायतका विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण गरिएको थियो ।

समापन कार्यक्रममा अतिथिहरुले सिकाई केन्द्रले गरेका कार्यहरुको प्रशंसा गर्दै सहभागिहरुलाई सिकेका कुरा व्यवहारमा लागू गर्न प्रेरणा दिए । प्रमुख अतिथी प्रधानले वडा कार्यालयबाट सिकाइ केन्द्रमा नियमित कार्यक्रमहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस प्रकारको सहयोग निरन्तर हुने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम संचालन सिकाइ केन्द्रका परिचालक रेनु गोपालीले गरेकी थिइन् ।

पालिका प्रेस
थप जानकारी