चित्लाङ एफसी र कुर्दन एकेडेमी चन्द्रागिरि थाहा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन् । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा इन्द्रायणी चौरमा जारी छैठौं थाहा गोल्डकप फुटबल प्रतियोगिता ४ असारमा सम्पन्न क्वार्टरफाइनलमा विजयी हुँदै ति टिम सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
४ असारमा भएको पहिलो खेलमा चित्लाङ एफसीले थाहा सक्रिय युवा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो । चित्लाङको शानदार जितमा शुभराज गोलेले १ गोल, शन्देश गोम्बाले २ गोल तथा कृष मालीले १ गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका चित्लाङका शुभराज गोले खेलको म्यान अफ द म्याच घोषित भए।
त्यसैगरी दोस्रो खेलमा कुर्दन एकेडेमी चन्द्रागिरिले पारिजात स्मृति चित्लाङलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो। कुर्दनको जितमा सुजित बुढाथोकी र अविरल रिजालले समान १–१ गोल गरे । खेलमा प्रभावशाली प्रदर्शन गरेका सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए।
५ असारमा हुने सेमिफाइनल खेलमा पाखुरे युवा क्लब र कुर्दन एकेडेमी चन्द्रागिरी तथा चित्लाङ एफसी र शिखर क्लब आमनेसामने हुनेछन् । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।
यस्तै व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १२ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) लाई जनही ६ हजार २५० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको अफिसियल मिडिया पार्टनर टिम टेलिभिजन, थाहापाटी डट कम, पालिका प्रेस, थाहा टाइम्स, बाइरोडन्युज, पालिकाडायरी, सतमार्ग अनलाइन र साझाकुरा दैनिक रहेका छन।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्