मकवानपुरको थाहानगरमा जारी ‘थाहा गोल्डकप’का लागि चित्लाङ एफसी र कुर्दन एकेडेमी चन्द्रागिरि फाइनलमा भिड्ने भएका छन् । चित्लाङ एफसीले प्रतियोगिता व्यवस्थापक शिखर क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
चित्लाङ एफसीको जितमा साइमन लामा र सन्देश गोम्बाले एक–एक गोल गरे भने शिखर क्लबका प्रशान्त रजकले एक गोल फर्काए । खेलमा सन्देश गोम्बा म्यान अफ द म्याच घोषित भए।
त्यस्तै कुर्दन एकेडेमीले बतासे फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । कुर्दन एकेडेमीका सुजित बुढाथोकी, दावा नोर्वु सेर्पा र अविरल रिजालले एक–एक गोल गर्दै टोलीलाई सहज जित दिलाए । सो खेलमा सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए।
थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौरमा प्रतियोगिता भइरहेको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई १२ हजार ५०० रुपैयाँ, तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ६ हजार २५० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। फाइनल खेल ६ असार दिउँसो १२ बजेदेखि हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको अफिसियल मिडिया पार्टनर टिम टेलिभिजन, थाहापाटी डट कम, पालिका प्रेस, थाहा टाइम्स, बाइरोडन्युज, पालिकाडायरी, सतमार्ग अनलाइन र साझाकुरा दैनिक रहेका छन।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्