मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ को जनकल्याण माध्यमिक विद्यालयका शिक्षक नरेन्द्र प्रसाद सिंह अर्थात ‘सिंह सर’ को विदाइ भएको छ । ३८ वर्ष एउटै विद्यालयमा निजी श्रोतबाट अध्यापन गरेर उनी विदाइ भएका हुन् । उनका चेलाहरुले एक कार्यक्रमको आयोजना गरी १८ चैत्रमा विदाइ गरेका छन् । ५ चैतमा विद्यालयबाट अवकाश पाएका ‘सिंह सर’लाई पुर्व विद्यार्थीहरुले भावविह्वल हुँदै बिदाइ गरे ।
करिब ४ दशकदेखि अध्यापन गराएका ‘सिंह सर’ अब आफ्नै जन्मथलो फर्कदै छन् । पुर्व विद्यार्थी यादव जंग रायमाझीले शिक्षकले जीवनमा सम्मान बाहेक अरु केही नपाउने भएकाले शिक्षकको सम्मानजनक बिदाइको सुरुवात जनकल्याण माविका पुर्व विद्यार्थीहरुको समुहले गरेको बताए । शिक्षकलाई सम्मान गर्ने परिपाटीको विकास गर्न बिदाई गरिएको र यो परम्परालाई निरन्तरता दिने कार्यक्रमका संयोजक समेत रहेका रायमाझीको भनाई थियो । बिदाई हुँदै शिक्षक सिंहले विद्यालय र त्यहाँ अध्ययन गरेका आफ्ना चेलाहरुलाई कहिँ गएपनि विर्सन नसक्ने बताए । उनी भन्छन्–‘आफ्नो विद्यार्थीले गरेको प्रगती सुन्दा औधी खुशी लाग्छ ।’ जनकल्याणले शिक्षकको क्षमता वृद्धि र उत्प्रेरणामूलक कार्यमा गरेको सहयोग, वर्तमान तथा विद्यार्थी पुर्व विद्यार्थी र यहाँका स्थानीयहरुले दिने माया, सम्मान र आदरले जुनसुकै ठाउँमा गएर पनि शिर ठाडो गर्न सकिने परिस्थिति सिर्जना गरेको शिक्षक सिंहले बताए ।

‘सिंह सर’लाई सम्मानसहित बिदाइ गर्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजीव कुमार स्याङ्तानले शिक्षक सिंहको योगदानको उच्च प्रशंसा गरे । उनले आगामी सामाजिक जीवन सफलताको शुभकामना व्यक्त गरेका थिए । जनकल्याण माध्यमिक विद्यालयको शैक्षिक उन्नति र प्रगतिका लागी अवकाश प्राप्त शिक्षक नरेन्द्र प्रसाद सिंहबाट आगामी दिनमा पनि सुमधुर सम्बन्धको अपेक्षा गर्दै प्रधानाध्यापक सानोभाइ कार्कीले सिंहको योगदानप्रति विद्यालय सदैव ऋणी रहने बताए ।
जनकल्याण एल्मुनाइ एशोसिएशनका अध्यक्ष निरन्जन अधिकारीले शिक्षकको पेसा शिक्षण घडीको टिकटिकमा हिँडेको बताए । मिनेटको हिसाब हुन्छ, मूल्यवान ज्ञान, सीप र विचार पहिचान गर्न सिकाउने पेसा शिक्षकको हुने औल्याउँदै शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावकको तादाम्यता हुनु पर्नेमा जोड दिए । अध्यक्ष अधिकारीले शिक्षण पेसामा उत्प्रेरणा, प्रतिवद्धता र समर्पणको साथै व्यवहारिक ज्ञान, सीप र कलाको पनि उत्तिकै खाँचो पर्ने बताउँदै भने–‘त्यस्तो ज्ञान, सीप, ‘सिंह सर’ले थाहाको माटोमा रोपेर जानूभयो, हाम्रो अमिट सम्झना रहन्छ ।’
कार्यक्रमका प्रमुख अतिथी तथा पुर्व विद्यार्थी समेत रहेका थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले असल शिक्षक बन्न हेड (माइन्ड), हार्ट (मन) र ह्यान्डको समायोजन हुनुपर्नेमा त्यो गुण ‘सिंह सर’मा भएको बताए । साझा मान्यतामा प्रभावित उपप्रमुख गोपालीले शिक्षक सिंहको योगदानको चर्चा गरे । हरेक विषय वा पाठमा मानवीय मूल्य समावेश गरेर पढाउने स्वभाव र मिहिनत शिक्षक सिंहमा भएको उल्लेख गरे । ‘शिक्षकको उद्देश्य ठूलो मानिस बनाउने नभएर असल मानिस बनाउने हो, सरको मार्मिक कथन थियो ।’ उपप्रमुख गोपालीले भने ।थाहा नगर र जनकल्याण माबिको शैक्षिक इतिहासमा ‘सिंह सर’ एक अविस्मरणीय व्यक्ति रहने बताउदै गोपालीले दामन पालुङको भूमि र जनकल्याण माविमा पढ्नेहरुले ‘सिंह सर’लाई सधैं सम्झिरहने उल्लेख गर्दै शिक्षक सिंहको सेवानिवृत्त जीवन सुखमयको कामना गरे ।
जनकल्याण माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुको समुहले आयोजना गरेको गुरु बिदाइ समारोहमा शिक्षक नरेन्द्र प्रसाद सिंहलाई पूर्व विद्यार्थी समूह तथा थाहा नगरपालिका वडा नम्बर ३ को कार्यालयले ताम्रपत्र तथा दोसल्ला ओडाएर सम्मान गरेको थियो । कार्यक्रम फरक सोच, पालुङ जेसीज र नवजागृत पुस्तकालयको सहयोगमा जनकल्यण एल्मोनाइ एशोसिएशनले आयोजना गरेको हो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्