‘राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ ! अनि हामी गरिब नभए को हुन्छ त?’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको  पोस्टको पहिलो अंश हो यो।

विश्वव्यापी तथ्यांक राख्ने संस्था ‘वर्ल्ड स्टाटिस्टिक्स’ ले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वजनिक गरेको छ। जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थानमा छ। एक्समा सार्वजनिक यही सूचीको लिंक सेयर गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। भट्टराईले अगाडि लेखेका छन्, ‘गम्भीर बनौं ! काम नगरी दिगो रूपले कोही धनी हुन सक्दैन भन्ने बुझौं! सानासाना सुधार त जसले जतिबेला गरे पनि हुन्छ नि!’

दक्षिण एसियाका अन्य देशमा भारत २१ दिन सार्वजनिक बिदासहित आठौं स्थानमा रहँदा पाकिस्तान १६ दिनसहित १६ औं स्थानमा छ।

विश्वको पहिलो र दोस्रो ठुलो अर्थतन्त्र भएका मुलुकहरू क्रमशः संयुक्त राज्य अमेरिका र चीनले वर्षभरि समान ११ दिन सार्वजनिक बिदा दिने गरेका छन्। यस्तै एसियाका धनी राष्ट्रहरू जापानले १६ दिन र दक्षिण कोरियाले १४ दिन सार्वजनिक बिदा दिने गरेका छन्। ४८ देशमध्ये वर्षभरि सबैभन्दा कम सार्वजनिक बिदा दिने देश मेक्सिको छ। उसले वर्षमा आठ दिनमात्रै सार्वजनिक बिदा दिन्छ। बेलायतले पनि वर्षमा आठ देखि १० दिनसम्म सार्वजनिक बिदा दिने गरेको छ।

वर्ल्ड स्टाटिस्टिक्सले सार्वजनिक गरेको बिदाका दिनहरू ‘साता बिदा’ बाहेकका हुन्। नेपालमा साता बिदा शनिबार हुन्छ। २०८० सालमा ५२ वटा शनिबार परेका छन्। विश्वका अन्य देशहरूले आआफ्नै नियमअनुसार फरक–फरक बारमा साता बिदा दिने गरेका छन्। कतिपय देशले दुई दिन साता बिदा दिने गरेको पाइन्छ।

पालिका प्रेस
थप जानकारी