नेपाल विद्युत प्राधिकरणले वक्यौता महशुल नतिर्ने उपभोक्ताहरुको लाईन काट्न अभियान संचालन गरेपछि पालुङ वितरण केन्द्रले एकै दिन १३ कात्तिकमा महशुल नतिर्ने २८ ग्राहकको लाईन काटेको छ । लामो समय देखि बाँकी वक्यौता नतिर्ने ग्राहकको लाईन काट्न पालुङ प्राधिकरणले शुरु गरेकै दिन वितरण केन्द्र अन्ततर्गतका औद्योगिक व्यावसायिक तथा घरेलु गरी २८ ग्राहकको लाईन काटेको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।

विद्युत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत महसुल बक्यौता वृद्धि हुँदै गएपछि पालुङ वितरण केन्द्रले लाइन काट्ने अभियान शुरु गरेको हो । विद्युत महसुल समयमा भुक्तानी नगर्ने उपभोक्ताको विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताको विद्युत लाइन काट्न सकिने प्रावधान रहेको र पटक पटक सार्वजानिक सूचना मार्फत जानकारी गराउँदा पनि अटेर गरी महशुल नबुझाउने ग्राहकको लाईन काट्न शुरु गरिएको पनि प्रमुख माधव न्यौपानेले बताए ।

१५ हजार ग्राहक रहेको पालुङ वितरण केन्द्रमा २ करोड १० लाख ९३ हजार १ सय ६३ रुपैंया वक्यौता पुगे पछि महशुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरिएको हो । प्राधिकरणले पालुङ वितरण केन्द्र सहित बज्रबाराही, मार्खु, फाखेल, सिस्नेरी लगाएतका फ्यूज सेवालाई परिचालन गरेर एकै पटक सबैतिर वक्यौता नतिर्ने ग्राहकको लाईन काटिएको र आजै काटिकएका २८ मध्ये १३ ग्राहकले ५ लाख ७५ हजार महशुल भुक्तानी गरी लाईन जोडाई सकेका वितरण केन्द्रका लेखा प्रमुख सुमन शिवाकोटीले बताए । १३ कात्तिकबाट शुरु भएको अभियानलाई निरन्तर संचालन गरि बाँकी वक्यौता रहेका सबै ग्राहकको लाईन काटिने पालुङ प्राधिकरणले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी