कास्कीको पोखरा महानगरपालिकाले भूकम्पका कारण ठूलो जनधनको क्षति बेहोरेको जाजरकोट र रुकुम पश्चिममा उद्धार एवम् खोजतलासका लागि राहतसहित नगर प्रहरीको टोली पठाएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा महानगरका वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा उद्धार टोली प्रभावित क्षेत्रमा पठाएको जानकारी दिए ।

उनका अनुसार महानगरका २ वटा सानो गाडी र १ ट्रक राहतसहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ । टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्यांकेट र औषधि एवम् उपचारका आवश्यक सामग्री लिएर गएको मेयर आचार्यले जानकारी दिए ।

पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको एक महिनाको पारिश्रमिकबाट सोध भर्ना हुने गरी १३ लाख १५ हजार रूपैयाँ बराबरको राहत सहयोग पठाइएको उनले बताए । ‘थप सामग्री र सहयोग महानगरपालिकाको विपद् कोषबाट खर्च बेहोरिने छ,’ मेयर आचार्यले भने ।

पालिका प्रेस
थप जानकारी