मकवानपुरको थाहा नगरपालिकाले कानुन निर्माण गरी कार्यान्वयन गर्दै आएको छ । संविधानको अनुसूचीमा रहेका एकल अधिकार र साझा अधिकारको सूचीमा रहेको ऐन कानुन नगरपालिकाले निर्माण सेवा प्रवाहलगायत कार्यसम्पादन गर्दै आएको हो । नगरपालिकाले स्थानीय तहको पहिलो निर्वाचित कार्यकाल पूरा भएर दोस्रो कार्यकालको डेढ वर्षको अवधिमा पालिकाको कार्यसम्पादनका लागि आवश्यक एक दर्जन ऐन निर्माण गरेको छ ।

नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले पालिकाको कार्यसम्पादन र सेवा प्रवाहका लागि आवश्यक सालबसाली ऐनबाहेकका १२ वटा ऐन निर्माण गरी कार्यान्वयनमा रहेको जानकारी दिनुभयो । उहाँले पालिकाको नगर सभाबाट ऐन निर्माणसँगै ऐनका आधारमा कार्यविधि, नियमावली, विनियमावली र निर्देशिका बनाएर कार्यसम्पादन गर्दै आएको बताउनुभयो । पालिकाले हालसम्म स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, नगर विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५, थाहा नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ ऐन, संस्था दर्ता ऐन, थाहा नगरपालिका सहकारी ऐन, थाहा नगर शिक्षा ऐन र न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४ बनाएको छ । एफएम रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि ऐन, २०७५, थाहा नगरपालिका कर्मचारी प्रशासनसम्बन्धी ऐन, थाहा नगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,  थाहानगर खानेपानी व्यवस्थापन बोर्डको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र स्थानीय वन ऐन, २०७९ निर्माण गरी कार्यान्वयनमा ल्याइएको पालिकाले जनाएको छ ।

नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको पहिलो कार्यकालमा ऐन निर्माणले तीव्रता पाएको थाहा नगरपालिकामा पछिल्लो कार्यकालमा भने ऐन निर्माण धिमा गतिमा भएको पाइएको छ । प्रदेश सरकार र सङ्घीय सरकारले साझा अधिकार सूचीका कतिपय ऐन निर्माण नगरेका कारण पनि स्थानीय तहको ऐन कानुन निर्माण ढिलाइ भएको सूचना अधिकारी भुजेलको भनाइ छ । पालिकाको नगर सभाबाट कार्यविधि, निर्देशिका, नियमावली गरी ३१ वटा कानुन बनेको छ । थाहा नगरपालिकाले नगरपालिकाको हेभी इकुपमेन्ट सञ्चालनसम्बन्धी कार्यविधि, विपत्–जोखिम–व्यवस्थापन तथा राहत–वितरण–कार्यविधि–२०७४, थाहा नगरपालिकाको टोल विकास संस्था गठन तथा सञ्चालन कार्यविधि, थाहा नगरपालिकामा करार कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि र स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५ बनाएर कार्यान्वयनमा ल्याएको छ ।

थाहा नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि, चालु कोष स्थापना तथा बिउ पुँजी परिचालन कार्यविधि, बजार व्यवस्थापन तथा परिचालन कार्यविधि, थाहा नगरपालिकाको ढुङ्गा, बालुवा, गिट्टीको अमानतमा कर उठाउनेसम्बन्धी कार्यविधि, कर्मचारी व्यवस्थापन (सेवा सर्तसम्बन्धी) कार्यविधि र थाहा नगरपालिका  कर्मचारी प्रोत्साहन कार्यविधि २०७६ बनेको नगरपालिकाले जनाएको छ । यो अवधिमा थाहा नगरपालिकाको ठुला सवारीसाधन परिचालन र व्यवस्थित गर्न बनेको कार्यविधि २०७६, स्थानीय संस्था दर्ता नियमावली, कोसेली घर सञ्चालन व्यवस्थापन कार्यविधि, थाहानगर खानेपानी व्यवस्थापन बोर्ड कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावली, काममा आधारित राहत वितरणसम्बन्धी कार्यविधि, कृषक समूह गठन तथा व्यवस्थापन निर्देशिका र थाहा नगरपालिका क्षेत्रभित्रको बाँझो जग्गा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७७ बनेको छ ।

थाहा नगरपालिकाको ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्रसम्बन्धी कार्यविधि २०७७,  थाहा नगरपालिका उद्योग, व्यापार तथा व्यवसाय दर्ता कार्यविधि, आर्थिक रूपले विपन्न अति सिमान्तकृत समुदाय तथा परिवारको स्वास्थ्य बिमा कार्यक्रम कार्यविधि र थाहा नगरपालिका सहकारी नियमावली र थाहा नगरपालिका जलस्रोत उपयोग कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । करार शिक्षक छनोटसम्बन्धी कार्यविधि, बाल क्लब समूह परिचालन निर्देशिका र लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) कार्यविधि पालिकाले बनाएको छ ।  स्थानीय तहको दोस्रो कार्यकालमा विषयगत पत्रकारिता लेखन तथा प्रसारण वृत्ति कार्यक्रम सञ्चालनसम्बन्धी कार्यवधि, २०७९,  थाहा नगरपालिका अनुदान तथा आर्थिक सहायता परिचालन कार्यविधि र आन्तरिक पर्यटन काजसम्बन्धी कार्यविधि २०७९ निर्माण गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिँदै सूचना अधिकारी भुजेलले तीन पाङ्ग्रे सवारीसाधन सञ्चालन व्यवस्थापन कार्यविधि र ढलजन्य फोहोर व्यवस्थापन निर्देशिका निर्माणको प्रव्रिmयामा रहेको बताउनुभयो ।

-गोरखापत्रबाट

पालिका प्रेस
थप जानकारी