धादिङको बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले विश्व पानी दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रमको सुरुवात गरेको छ । बेनीघाट रोराङ गाउँपालिकाको वडा नंम्बर ४ रिचोक पँधेरोको मुहान संरक्षणका लागि विभिन्न क्षेत्रमा वृक्षारोपण गरिएको बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेती (श्रेष्ठ) ले जानकारी दिइन् ।

 

उपभोक्ता समितिले सञ्चालन गरेका योजना बोर्डमा हस्तान्तरण भएर आएका खानेपानी योजनाको मुहान सुक्न गई फरक मुहानबाट पानी लिफ्ट गरी वितरण गर्नुपर्ने बाध्यता रहेको र यसले गर्दा सञ्चालन खर्च बढ्ने, पानी पर्याप्त नहुने जस्ता समस्या झेल्नु पर्ने अवस्था सिर्जना भएकाले परम्परागत रुपमा प्रयोग गर्दै आइरहेको मूललाई जोगाउन मुहान वरपर सरसफाइ गरी वृक्षारोपण गरिएको उनले बताइन् ।

वृक्षारोपण कार्यक्रमबाट स्रोत संरक्षणमा सघाउ पुग्ने र उपभोक्ताहरुमा पानीको उपयोग तथा स्रोतको संरक्षणमा चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ’–उनले भनिन् । कार्यक्रममा ३९ वटा विरुवा डेमोको रुपमा वृक्षारोपण गरिएको थियो । वर्षायाममा वृहत वृक्षारोपण गर्ने योजना रहेकोले सो योजनालाई समेत सघाउ पुग्ने अपेक्षाका साथ विश्व पानी दिवसको दिन डेमोको रुपमा वृक्षारोपण गरिएको बोर्डका कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिइन् ।

सव डिभिजन वन कार्यालय बेनीघाट रोराङ गाउँपालिकाको समन्वय, अक्सफामको आर्थिक सहयोग र फोकस नेपाल धादिङद्धारा सञ्चालित वैकल्पिक व्यवस्थापन मोडेल परियोजनाको आर्थिक सहयोग तथा बेनीघाट रोराङ गाउँपालिकासँगको सहकार्य र बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा खानेपानी मुहान संरक्षणको लागि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिका तथा बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, सब डिभिजन बन कार्यलय बेनिघाट रोराङका बन अधिकृत, वडा नंम्बर ४ का वडा अध्यक्ष, वडा सदस्य, खानेपानी बोर्डका कर्मचारी टिम, समाजसेवी र रिचोक पोखरीका आम जनसमुदायको सहभागिता थियो ।

विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउने उद्देश्यले सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालिएको हो । यस वर्ष “शान्तिका लागि पानी” भन्ने नाराका साथ विश्व पानी दिवसका विभिन्न कार्यक्रमहरु भएका छन् ।

पालिका प्रेस
थप जानकारी