थाहा नगरपालिका वडा नं. ५ का ५२ वर्षीय सन्त बहादुर गुरुङले कक्षा ८ को परीक्षा उत्तीर्ण गरेका छन् । झम्केश्वरी मावि थाहा–१ का विद्यार्थी गुरुङले गत १ चैतबाट शुरु भएको थाहा नगरपालिका स्तरीय कक्षा ८ को परीक्षा दिएका थिए । उनको सिम्बोल नम्बर ८००१८०३४ रहेको छ ।

थाहा नगरपालिकाले शैक्षिक सत्र २०८० मा सञ्चालित  नगरपालिकास्तरीय आधारभूत शिक्षा(कक्षा–८) को परीक्षाफल २५ चैत दिउँसो प्रकाशित गरेको हो । ५ नम्बर वडाको फुर्के बसन्तका गुरुङ विद्यालय छोडेको ३८ वर्षपछि पुनः विद्यालय भर्ना भएका थिए । ५ कक्षासम्म गाउँकै बसन्त प्राविमा अध्ययन गरेका गुरुङले कक्षा ६, ७ र ८ थाहा नगरकै जनकल्याण माविमा अध्ययन गरेका थिए । ८ कक्षामा उनुतीर्ण भएपछि ३७ वर्ष अघि विद्यालय छोडेको गुरुङले सुनाए । उनी विद्यालय छोड्दा जम्मा १४ वर्षका मात्र थिए ।

सन्त बहादुर गुरुङ गाउँकै बसन्त प्रावि व्यवस्थापन समितिको २ कार्यकाल अध्यक्ष भैसकेका छन् । उनले यहि विद्यालयमा कखरा सिकेका हुन् । उनले गाउँको सडक निर्माण समिति, झोलुङ्गे पुल निर्माण समितिलगायत थुप्रै समितिहरुमा बसेर सामाजिक काम गरिसकेका छन् । सामाजिक काम उनका लागि नशा जस्तै भैसकेको छ । अहिले पनि उनी फुर्के बसन्त टोल विकास संस्थाका उपाध्यक्ष छन् । सिरान घर डाँडागाउँ खड्का टोल खानेपानी उपभोक्ता समितिको उनी अध्यक्ष हुन् । त्यसोतः उनी नेपाली काँग्रेस थाहा ५ का वडा सभापति पनि समेत हुन् ।

गुरुङको दुई छोरा र श्रीमती छिन् । उनको जेठो छोरो स्नतकोत्तर तहमा अध्ययनरत छन् । कान्छो छोरोले स्नातक तह अन्तर्गत बीएस्सी एजी पास गरेका छन् । उनी पनि स्नातकोत्तर अध्ययनको तयारीमा छन् । श्रीमती मञ्जु कुमारी गुरुङले ५ कक्षा पास गरेकी छिन् । उनको परिवार प्रमुखतः कृषि पेशामा निर्भर छन् ।

पालिका प्रेस
थप जानकारी