मकवानपुरगढी गाउँपालिकामा वन डढेलोका कारण खानेपानीको पाइप जल्दा स्थानीयलाई खानेपानीको समस्या भएको छ । डढेलोले मकवानपुर गढी गाउँपालिकामा रहेको बृहत खानेपानी आयोजनालगायत अन्य स्थानीय खानेपानीको पाइप जल्दा गाउँमा पार्नी आपूर्ति बन्द भएको छ । डढेलोका कारण खानेपानीको पाइप जलेपछि मकवानपुर गढीगाउँपालिकाको वरभन्ज्याङ, बाँसपानी, पौवाडाँडा, गुम्बा, धर मपानी, कुर्ले, गैरीभञ्ज्याङ, शिखर कटेरी, लामिडाँडा, भालुन्टार र ३ नम्बर वडाको क्षेत्रमा खानेपानी र सिचाईं पूर्णरुपमा अवरुद्ध भएको हो ।

डढेलोले मकवानपुर गढी–२, स्थित माथिल्लो बाँसपानी, मञ्जुश्री वन हुँदै आउने बृहत खानेपानी, अमृत खानेपानी, वर भन्ज्याङ खानेपानी, बाँसपान खानेपानी आयोजनाको पाइपमा क्षति पुगेको वडाअध्यक्ष बखानसिं पाख्रिनले जानकारी दिए । डढेलोले धवाडी सिचाईं–१, धवाडी सिचाईं–२ को पाईपमा ठूलो क्षेती पुगेको छ । शनिवार बेलुका वन डढेलो निभाउन स्थानीयले प्रयास गरेपनि रातको समय र भीरपहरामा आगो फैलिएकोले निभाउन नसकिएको वडाध्यक्ष पाख्रिनले बताए ।

डढेलो निभाउन इलाका प्रहरी कार्यालय मकवानपुरगढीको प्रहरीटोली र स्थानीय खटिएका थिए । तर, पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोले वन छेउमा रहेका घरहरु पनि जोखिममा परेको वडाध्यक्ष पाख्रिनलले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी