मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शिवराज थिङले मनोमानी योजना तर्जुमा गरेको आरोपमा वडा सदस्यहरुले छानविनको माग गरेका छन् । ७ नम्बर वडाका ३ जना वडा सदस्यहरुले १२ असारमा छानविनको लागि नगर प्रमुख विष्णु बहादुर विष्ट समक्ष निवेदन पेश गरेका हुन् ।

आर्थिक वर्ष २०८१÷०८२ को योजना तर्जुमा गर्दा वडाध्यक्ष थिङले मनोमानी तथा गैरकानूनी रुपमा योजना तर्जुमा गरी नगरसभामा पेश गरेको वडा सदस्यहरुको आरोप छ । यसरी निवेदन दिने सदस्यहरूमा देवेन्द्र थापा मगर, हरिमाया बुलुन र हरिमाया बि क. रहेका छन् । निवेदन बुझ्दै थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टले यस विषयमा छलफल गरी समस्या समाधान गरिने प्रतिक्रिया दिए ।

आफुहरुले पटकपटक टोल भेला गराई बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदा पनि बेवास्ता गरी एकल निर्णयले अध्यक्ष थिङले पुर्वाग्राही ढङ्गले बजेट बाँडफाँड गरी सभामा पेश गरेको वडा सदस्य हरिमाया बुलुनको भनाइ थियो ।

वडा अध्यक्ष थिङले आर्थिक वर्ष २०८१/०८२ को वडाको सिलिङ बजेट एकल निर्णयद्वारा विनियोजन गरेको भन्दै वडा सदस्यहरुले ७ असारमा सम्पन्न नगर सभाको पहिलो बैठकमा पनि विरोध गरेका थिए ।

पालिका प्रेस
थप जानकारी