मकवानपुर थाहा नगरपालिकाको ऐतिहासिक सँस्कृतिक शहर पालुङमा १ असोजमा भव्यताकासाथ इन्द्रजात्रा पर्व मनाइएको छ । एक विशेष समारोकाबीच पालुङमा परम्परागत इन्द्रजात्रा मनाइएको हो । वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरी पालुङमा ईन्द्रजात्रा मनाइन्छ । प्रत्येक वर्ष पालुङ शहरमा भाद्र शुक्ल चतुदर्शीका दिन पर्ने यो पर्व मनाइँदै आएको छ ।
थाहा नगरपालिकासंगै सीमाना जोडिएको काठमाण्डौंमा भने इन्द्रजात्राको अवसरमा १ असोजमा सार्वजनिक विदा समेत दिइएको थियो । यद्यपि काठमाण्डौ उपत्यकाको सार्वजनिक विदाले थाहानगरको पालुङलाई छुन सकेन । पालुङमा मनाइने इन्द्रजात्रालाई सरकारले महत्व दिने गरेको छैन । राष्ट्रपति तथा प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहने काठमाण्डौको जस्तै शैलीमा पालुङमा पनि इन्द्रजात्रा मनाउने परम्परा रहेको छ ।
पालुङको जात्रा लाग्ने स्थल थाहा नगरपालिका वडा नम्बर २ मा पर्दछ । १ असोजमा भएको इन्द्रजात्रामा २ नम्बर वडाका वडाध्यक्ष बम बहमदुर सिन्तानको समेत अनुपस्थिती रहेकोप्रति स्थानीयहरुले गुनासो गरेका थिए । पालिका उपप्रमुख भरत गोपाली चाहिँ जात्रा अवलोकनका लागि पुगेका थिए । पालुङको डबलीमा आयोजित इन्द्रजात्रामा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, ३ नम्बर वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी, कृषि शाखा प्रमुख संजय तिवारी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्याल, शिखर क्लबका अध्यक्ष विश्व अर्याल, फरक सोचका अध्यक्ष यादवजंग रायमाझी तथा पालिकाका कर्मचारीको सहभागिता थियो ।
पालुङमा तृतीयाका दिन विधिपुर्वक देवतालाई बोकाको भोक दिएर पुजाआजा गरी गणेश, इन्द्रायणी, भैरव, बाराही र कुमारीको नाच पालुङ शहरको डबलीमा नचाउने चलन छ । स्थानीय पुजारी सम्पूर्ण श्रेष्ठले ईन्द्रायणीको पुजा गरी देवतालाई भित्र्याएपछि अब एकैचोटि अर्को वर्षको गठेमङगलमा मात्र निकाल्न मिल्ने परम्परा रहेको छ ।
संस्कृति र परम्परा जोगाउनका लागि पालिका र स्थानीयहरुले सहयोग र सहकार्य गर्नु आवश्यक रहेका इन्द्रायणी कालाभैरब गुठीका अध्यक्ष श्यामभक्त श्रेष्ठले बताए ।
यसरी मनाइन्छ पालुङ शहरमा ‘इन्द्रजात्रा’
इन्द्रजात्राको दिन विहान सबैले घरघरबाट पुजा लानुपर्छ । गाउँको बिचमा ढुङ्गे धाराकै आडमा फल्चा छ । स्थानीयहरु सबैले त्यही पुजा लिएर पुग्छन्् । पुजामा घरैपिच्छे पाँचवटा देवीलाई ५ वटा अण्डा लग्नै पर्छ । छ्याङ पनि लाने गरिन्छ । समयबजी भुटेर र फलफूल राखेर लानुपर्छ । पालुङमा कालाभैरव गुठी छ । जात्रामा पुजारी नेवारहरु नै हुन्छन् । पुजारीहरु विहानैदेखि भोकै बसेका हुन्छन् । इन्द्रजात्राको अवसरमा १ असोज दिउसो ३ बजेदेखि लाखे, ख्यो, राजारानी नचाइन्छ ।
पालुङ डबली आउनु अघि मान्छेमा देउता जगाइन्छ । उनीहरु कामिरहेको हुन्छन् । उनीहरुलाई ल्याएर मुकुट लगाइन्छ । अनि १ घण्टा बढि डबलीमै नचाइन्छ । नाच्दै गर्दा देउताले घरघरबाट ल्याएको अण्डा खान्छन् । आ–आफ्ना देवीहरुलाई देउताले नै अण्डा दिन्छन् । आफ्ना देवीहरुलाई ५/१० वटा अण्डा फुटाएर दिन्छन् । देउता आफैले पनि ५/१० वटा अण्डा खान्छन् ।
नाच्दा नाच्दा थकाइ लागेपछि देउताले जलको रुपमा रक्सी खान्छन्, अण्डा पनि खान्छन् । अन्तिममा एउटा बोका काटिन्छ । सबै देवीले त्यही एउटा बोकाको भोग पालैपालो खान्छन् । बोका भैरवले काट्छन्, सुरुमा गणेशले भोग खान्छन् । त्यसपछि सबै देवीले पालैपालो भोग खान्छन् । भोग खान लागेपछि देवीले बोका छोड्दै छोड्दैनन् । ८–१० जनाले बोका तान्नुपर्छ र त्यति नै जनाले देउता समाएर तान्नुपर्छ । अनि मात्रै भोग छुटाउन सकिन्छ ।
एउटा इन्द्र जात्राको देवता नचाउँदा एउटा गणेश हुन्छन् । उनी मासु खाँदैनन् । तर, भैरवले बोका काटेपछि उनलाई हरर्र बास्ना आउँछ–गणेश देउता चढेका व्यक्तिहरु पछि सुनाउँछन् । त्यसपछि ती गणेशले पनि भोग खान्छन् । एउटैले १५ वटासम्म काँचो अण्डा खान्छन् तर उनीहरुलाई केही हुँदैन । कहिल्यै रक्सी नखानेले पनि रक्सी खान्छन् । देउतालाई साझ ७ बजेतिरै विदा गरिन्छ । पालुङको नेवार गाउँको बीचमा डबली छ, नाच त्यही हुने हो । पालुङमा डबली २ वटा छन् ।





















































प्रतिक्रिया दिनुहोस्